काठमाडौँ, पुस २२ गते । नेपाल टेलिकमको दैनिक इन्टरनेट ९डेटा० खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट ९टीबी० छ । यो सन् २०२१ को औसत इन्टरनेट खपत हो । सन् २०२० मा कम्पनीको दैनिक औसत डेटा खपत २६३ टीबी मात्र थियो । फोरजी विस्तारका क्रम बढेसँगै कम्पनीको डेटा खपतमा व्यापक वृद्धि भएको हो । कुल डेटा खपतमा फोरजीकै हिस्सा बढी छ ।
फोरजी प्रयोगमार्फत टेलिकमको दैनिक ४९३ टीबीसम्म डेटा खपत भएको छ जब कि सन् २०१९ को मध्यसम्म फोरजीबाट हुने डेटा खपत केवल ७.५५ टीबी थियो । यो क्रम टुजी र थ्रीजीमा भने देखिँदैन । सन् २०१९ जुलाईमा टुजीमार्फत ६.१५ टीबी डेटा खपत भएकामा २०२१ नोभेम्बरमा घटेर २.८५ टीबी भएको छ । सोही अवधिमा थ्रीजीबाट हुने डेटा खपत दैनिक ९०.६१ टीबीबाट बढेर ९२.५० टीबी पुगेको छ । फोरजीबाट डेटा खपत बढेपछि दुई वर्षको उक्त अवधिमा कम्पनीको डेटाको प्रयोग समग्रमा ४६४ प्रतिशतले बढेको छ ।
पछिल्लो समय इन्टरनेटको प्रयोग बढेपछि डेटाको खपत पनि बढिरहेको कम्पनीका प्रवक्ता राजेश जोशीले बताए ।“कोभिडपछि धेरै कामका लागि इन्टरनेट प्रयोग हुन थालेपछि यसको दैनिक खपत पनि बढिरहेको छ,” उनले भने । डिजिटल कन्टेन्टको निर्माण पनि बढिरहेको तथा फोरजी विस्तार आयोजनामा पनि उल्लेख्य प्रगति हासिल हुँदा डेटाको खपत बढ्न सहयोग पुगेको उनको भनाइ छ ।
टेलिकमले करिब २० अर्ब रुपियाँमा तीन वर्षअघि देशैभर फोरजी विस्तार आयोजना कार्यान्वयनमा ल्याएको थियो । यस अवधिमा कम्पनीले ६४० वटा नयाँ टावरको व्यवस्था गरेको छ जसमध्ये ५०१ वटा टावर जडान सम्पन्न भइसकेको छ भने ४५१ टावरमार्फत सेवा सञ्चालनमा आइसकेको छ । टेलिकमले फोरजी आयोजनाको ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको जनाएको छ । यसबाट ७७ जिल्लाका ७१० स्थानीय तहमा सेवा सुरु भइसकेको कम्पनीको तथ्याङ्क छ । आयोजना सम्पन्न हुँदा चार हजार ५१७ स्थानबाट मोबाइल सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । टेलिकमले अहिले फोरजीमार्फत भिडियो कलको समेत सुविधा लिन सकिने भ्वाइस ओभर एलटीई ९भीओएलटीई० सेवा पनि सुरु गरिसकेको छ ।
पछिल्लो तथ्याङ्कअनुसार टेलिकमका फोरजी प्रयोगकर्ताको सङ्ख्या ७४ लाख नाघेको छ । त्यस्तै थ्रीजी प्रयोगकर्ता करिब एक करोड र टुजी प्रयोग गर्नेको सङ्ख्या ३८ लाख हाराहारी छन् ।