नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले आगामी मंसिर १४ गते गर्ने लागेको उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादीको पोलिटब्युरोको बैठकले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको महासचिव मोहन वैद्य किरणले बताएका छन् । बैठकपछि महासचिव बैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ “सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने भएकोले उक्त उपनिर्वाचनको सक्रिय बहिस्कार गर्ने निर्णय लिइएको छ” ।

साथै पार्टीले भारत सरकारले जम्मू कश्मीरबाट लद्दाखलाई अलग गरी अनुच्छेद ३७० खारेज गर्नुले जनताप्रति गम्भीर विश्वासघात भएको भन्दै सरकारको आलोचना पनि गरिएको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी ले संयुक्त राज्य अमेरिकाद्वारा हिन्द प्रशान्त सैन्य साझेदारीको रणनीति अगाडि ल्याइएको स्थितिमा नेपाल सरकार त्यसमा सामेल हुन खोजेको भन्दै अमेरिकी सरकारद्वारा दिइने मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुदान सहायता अन्तर्गत ५० करोड अमेरिकी डलर लिने नेपाल सरकारको निर्णयको विरोध गर्दै अमेरिकी साम्राज्यवादद्वारा ल्याइएको हिन्द प्रशान्त रणनीतिमा सम्मिलित नहुन सो रकम अस्वीकार गर्न तथा पञ्चशीलको मान्यताका आधारमा परराष्ट्र नीति अँगाल्न सरकारसित जोडदार माग गरेको छ ।

त्यसैगरी हाल नेपालमा सङ्क्रमणकालीन न्यायबारे राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि चर्चा हुँदै आएको भन्दै सरकारद्वारा आफै गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक कानुनहरुको निर्माण र अन्य सहयोग प्रदान गर्ने काममा हद दर्जाको उपेक्षा र असहयोग गरी विघटित गरिएको सो पार्टीले जनाएको छ । विज्ञप्तिमा अगाडी भनिएको छ “यस स्थितिमा हाम्रो पार्टी उपयुक्त कानुनहरुको निर्माण तथा सहयोग प्रदान गरी आयोगहरुलाई पुनर्गठित तुल्याई समस्याको समुचित समाधान निकाल्न सरकारसित जोडदार माग गर्दछ । साथै, नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरुसित समेत विशेष आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुस