कञ्चनपुर चैत्र २७ । केन्द्रमा सत्ता गठबन्धन रहेका नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीले स्थानीय तहको aनिर्वाचनमा पनि गठबन्धन गर्न निर्णय गरेका भएपनि त्यो अस्वीकार हुनेक्रम बढ्दै गएको छ । स्थानीय स्तरको आवश्यकतालाई हेरेर मात्रै तालमेल गर्न सकिने भन्दै विभिन्न जिल्लाहरुमा गठबन्धन आवश्यक नरहेको भन्ने आवाज समेत उठ्न थालेका छन् ।
यसैविच नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा चुनावी तालमेलका लागि असहमति जनाइएको छ । ‘स्थानीय अवस्था र आवश्यकताअनुरुप तालमेल गर्न सक्ने’ भन्दै गरेको नीतिगत निर्णयमा टेकेर शीर्ष तहका नेताहरुकै गृहजिल्लामा वडा र पालिकास्तरीय कार्यसममितिहरु तालमेल आवश्यक नरहेको अडानमा रहेका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा स्थानीय कार्य समितिले चुनावी तालमेल अस्वीकार गरेका छन् ।
गन्यापधुरा गाउँपालिका– २ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल आवश्यक नरहेको निर्णय गरेर गाउँपालिका कार्यसमितिलाई पत्र पठाएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा ती दुवै वडामा कांग्रेस विजयी भएको थियो । तालमेलबिना जित्न सकिने भन्दै दुवै वडाले निर्णयसहित सिफारिस पत्र पठाएको कांग्रेस गन्यापधुराका सभापति इन्द्र कार्कीले जानकारी दिनु भयो । उहाका अनुसार १, ४ र ५ का वडा कार्यसमितिले तालमेलबारे निर्णय गरिसकेका छैनन् । गाउँपालिका कार्यसमिति सभापति कार्कीले गन्यापधुरामा चुनावी तालमेल आवश्यक नरहेको आशय व्यक्त गर्दै वडा कार्यसमितिको सिफारिस माथिल्लो तहलाई जस्ताको त्यस्तै पठाउने बताउनु भयो ।