बेलौरी । कञ्चनपुर क्षेत्र नं। १ की संघीय सांसद तथा पूर्व मन्त्री बीना मगरले मौन अवधिमा चुनाव प्रसार गर्न गएको विषय अनावश्यकरुपमा अतिरञ्जित गरिएको बताएकी छिन् ।

लालझाडी गाउँपालिकाको बिनबारीमा गएको बेला एमाले कार्यकर्ताहरुले चुनाव प्रचारमा आएको भन्दै अनावश्यक बखेडा झिकेको उनले बताईन ।

एमाले कार्यकर्ताहरुले बिना मगर त्यहाँ पुगेको बेला होहल्ला गरेका थिए । एमाले कार्यकर्ताहरुले होहल्ला गर्दै वडाध्यक्षलगायतका स्थानीय जनतामाथि आक्रमण गरेको स्थानीयवासीले बताए । स्थितिबारे सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

नेकपा माओवादीका नेताहरुले भने उक्त घटनालाई हारको मानसिकताको उपज भएको बताएका छन् ।  “वडाध्यक्षका उम्मेदवारको घरमा खाना गएका हौं । यो नितान्त व्यक्तिगत भेटघाट थियो । चुनावका लागि भोट माग्न म नै त्यसरी जानुपर्ने स्थिति आवश्यक छैन ।” सांसद मगरले भनिन्, “खाना खान गएको बेला त्यहीँका महिलाहरुसँग पारिवारिक र व्यक्तिगत कुराकानीलाई अनावश्यक इस्यू बनाइएको हो ।”

लालझाडीमा पार्टी लोकप्रियता देखेर तर्सिएका तत्वहरुले सुनियोजित तवरले भ्रम छरिरहेको उनले बताईन । यसअघि पनि माओवादी केन्द्रले नै जितेको लालझाडी गाउँपालिकामा यसअघिका अध्यक्ष मदन बडायक फेरी अध्यक्षको उम्मेदवार बनेका छन् । माओवादीले सबैभन्दा बलियो संगठनात्मक आधार भएको क्षेत्रका रुपमा लिँदै आएको लालझाडीलाई सहजै जित्ने पालिकाको रुपमा लिएको छ ।

व्यक्तिगरुपमा हिँडडूल गर्दा समेत त्यसलाई चुनाव प्रचारसँग जोडेर हेर्नु पराजित मानसिकताको उपज भएको माओवादी नेताहरुले बताएका छन् । माओवादीका उम्मेदवार मदन बडायकका अनुसार, पालिकामा माओवादीको अवस्था राम्रो भएको र एमालेले हार्ने निश्चित भएपछि उनीहरुले निहुँ खोजेर हिंसा फैलाउने र निर्वाचन बिथोल्ने षडयन्त्र गरिरहेका छन् ।

“हामी संगठनात्मकरुमा बलियो छौं । त्यसैले हामीले कुनै षडयन्त्र गर्नुपर्न या मौन अवधिको या आचारसंहिता उल्लंघन गर्नुपर्ने कुनै कारण नै छैन । त्यो हामीलाई आवश्यक नै छैन । जो कमजोर हुन्छ, उसले नै जथाभावी हल्ला फैलाउने हो ।” उनले भने ।

नेकपा एमालेका नेता तथा कार्यकर्ताले हिजो पनि बेलौरी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका नन्दलाल रानामाथि आक्रमण गरेका थिए । नेकपा एकीकृत समाजवादीले उक्त घटनालाई अपराधिक जत्थाहरुको कायरता भन्दै आलोचना गरेको छ ।

प्रतिक्रिया दिनुस