नारायण चौधरी,

कैलाली टिकापुर ,कैलालीको टीकापुरमा थारुहरुको राष्ट्रिय सम्मेलन हिजो बाट स्वायत्त प्रदेशको मूल नाराका साथ थारुहरुको तीन दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । देशभरका थारु अगुवाहरु टिकापुरमा भेला भएका छन् । थारुवन स्वायत्त प्रदेशको माग राखेर आन्दोलन गर्ने क्रममा भएको टीकापुर घटनाको सम्झनामा देशभरिका थारु अगुवाहरु टिकापुरमा जम्मा भएका हुन् ।

टीकापुरका थारु तथा पहाडी समुदायबीचको तुस मेटी सदभाव कायम गर्ने समेत उद्देश्य सम्मेलनको रहेको आयोजकहरुले बताएका छन् । टीकापुर बजारस्थित सिटी हलमा सुरु भएको सम्मेलनको उदघाटन कार्यक्रममा हजारौं थारु समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई नेकपा ९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्य‘किरण’, संघीय समाजवादी पार्टीका संयोजक डा। बाबुराम भट्टराई, अखिल नेपाल जनजाति महासंघका अध्यक्ष डा। ओम गुरुङ, राजपाका अध्यक्ष लक्ष्मणलाल कर्ण, लेखक खगेन्द्र संग्रौला, युग पाठक, पत्रकार किशोर नेपाल, राजपाका राजकुमार लेखी, नेता कुमार लिङ्देन, अधिवक्ता शंकर लिम्बु , गोविन्द छन्त्याल, कांग्रेसका सुरेन्द्र चौधरी लगायतका नेताहरुले सम्मेलन सफलताको शुभकामना दिनुको साथै थारु स्वायत्त प्रदेशको मागप्रति ऐक्यबद्धता जाहेर गर्दै टीकापुर घटनामा जेल सजाय काटिरहेका रेशम चौधरीको रिहाईको माग गरेका थिए ।

कार्यक्रममा कुनै पनि नेतालाई प्रमुख अतिथि बनाइएको थिएन । कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले थारुहरुको स्वायत्त प्रदेशको मागप्रति आफ्नो पार्टीको दृढ समर्थन रहेको बताउँदै त्यसका लागि थारु समुदाय एकढिक्का भएर अन्य उत्पीडित जाति र वर्गसँग समेत हातेमालो गर्दै संघर्षको प्रक्रियाबाट अगाडि बढ्नुपर्ने विचार व्यक्त गरेका थिए । महासचिव किरणले थारु समुदायले राजनीतिक अधिकारका लागि गरेको आन्दोलनको क्रममा टीकापुर घटना हुन पुगेको भन्दै यस घटनामा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई राजनीतिक सहमतिको आधारमा अविलम्ब रिहाई गर्नुपर्ने माग समेत गरेका थिए ।डा। बाबुराम भट्टराईले थरुहट अधिकारका लागि थारुको एकता अनिवार्य रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण, काँग्रेसका सुरेन्द्र चौधरी, पत्रकार किशोर नेपाल, लेखक खगेन्द्र संग्रौला लगायतले थारू समुदायको मुद्दा सम्बोधन गर्न राज्यको नेतृत्वमा बसेकाहरु तयार हुनुपर्नेमा जोड दिएका छन् ।

टीकापुरस्थित सिटी हलमा सुरु भएको सम्मेलनका लागि टीकापुर र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका प्रहरी उपरीक्षक र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

२०७२ साल भदौ ७ गते नेपाल प्रहरीका एसएसपी र एकजना नाबालकसहित ८ जनाको ज्यान जाने गरी टीकापुरमा भएको घटनाको ४ वर्षपछि थरुहट÷थारूवान संघर्ष समितिले राष्ट्रिय सम्मेलन गर्न थालेको छ ।

२५ जिल्लाबाट करिब ५ हजार सहभागी उपस्थित रहेको सम्मेलन आयोजना गरिएको बताइएको छ । सम्मेलनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले एक साता अगाडीदेखि नै टीकापुर तथा आसपासका क्षेत्रमा सुरक्षामा कडाई गर्दै आइरहेको थियो । लम्की बजारदेखि नै प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जसका लागि ठाउँठाउँमा चेक जाँचका साथै सादा पोशाकमा प्रहरीहरु समेत खटिइएको छ ।
सम्मेलनको कार्यतालिका अनुसार भदौ ७ गते अर्थात् शनिबार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ भने भदौ ८ गते बन्दसत्र चल्नेछ भने ९ गते टीकापुर घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुस