सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९÷८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सभामा आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गर्नुभएको बजेटमा कृषि विकास र सडक पूर्वाधार विकासलाई पाँच अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

१२ अर्ब २९ करोड ५९ लाख रुपैयाँ चालुतर्फ र २४ अर्ब १४ करोड ४७लाख रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षको भन्दा झण्डै साढे ६ अर्ब बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याइएको हो।

सरकारले प्रदेश गौरवका आयोजना, बहुवर्षीय ठेक्कामार्फत सञ्चालित योजनाको काम आगामी वर्षभित्रै सम्पन्न गर्ने गरी बजेट ल्याएको छ। यस्तै बाढी पहिरो प्रभावितका लागि एक अर्ब १२ करोड, खानेपानी संरचना निर्माण गर्न एक अर्ब ६७ करोड ९७ लाख, सिँचाइ र यान्त्रिकीकरणका लागि ७५ करोड, विपन्न समुदायका लागि एकीकृत बस्ती निमार्ण गर्न १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

एक अर्ब बजेटसहित प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम नयाँ कार्यक्रम आएको छ । प्रदेश सरकारले सङ्घीय सरकारअन्तर्गत सशस्त्र, जनपथ प्रहरीका पूर्वाधार निर्माण, कारागारमा, सीमा सुरक्षामा रकम विनियोजनलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुस