कञ्चनपुरको भीमदत्त नगरपालिकाले अघिल्लो कार्यकालको आर्थिक दायित्व र आगामी लक्ष्य सहितको श्वेतपत्र जारी गरेको छ । नगरपालिकाको दुई दिनपछि बस्ने नगर सभाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरी श्वेतपत्र जारी गरेको हो ।

श्वेतपत्रमा अघिल्लो कार्यकालको रु. ३९ करोड ३३ लाख दायित्व देखिएको छ। त्यसमा रु. ३८ करोड ६८ लाख पूँजीगत र रु. ६५ लाख ४६ हजार चालु खर्च छ। नगरपालिकाको पूँजीगत तर्फ हालसम्मको भुक्तानी गर्न बाँकी रकम नगरपालिकाको प्रशासनिक भवनको संघबाट प्राप्त हुने समपूरक रकम रु.६ करोड ७५ लाख बाहेक कुल पूँजीगत तिर्न बाँकी रकम ३८ करोड ६८ लाख ४१ हजार ९ सय ९८ रहेको छ । चालु (दायित्व) तिर्न बाँकी रकम रु.६५ लाख ४६ हजार ८ सय ४० गरी जम्मा ३९ करोड ३३ लाख ८८ हजार ८ सय ३८ रुपैया नगरपालिकाले तिर्नुपर्ने छ। श्वेतपत्रमा बजेट सुनिश्चितता नभएर ठेक्का लगाएको, ठूलो रकम रकमान्तर गरिएको, डिपिआर प्रतिवेदन बनाइएको, आन्तरिक स्रोतले धान्न नसक्ने गरी कर्मचारी भर्ना गरिएको, इन्धन खर्चमा मितव्ययिता अपनाउन नसकिएको र ठूलो मात्रामा कोटेशन गरिएको कारणबाट दायित्व बढेको उल्लेख गरिएको छ । दायित्वलाई संघ र प्रदेश सरकारसित पहल गरी घटाउँदै जाने नगरपालिकाको योजना छ।

आन्तरिक स्रोतले मात्रै धान्न नसकिने भएकाले माथिल्लो सरकारसित पहल गरी आवश्यक निर्माणका कार्य सञ्चालन गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ । अघिल्लो कार्यकालका राम्रा कामलाई निरन्तरता दिँदै जाने, दरबन्दी पुनरावलोकन, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाइने, सबै वडामा सेवाग्राहीलाई सहज रुपमा सेवा सुविधा दिने र नगरपालिकाका भित्र हुने अनियमिततालाई छानबिनको दायरामा ल्याएर सुशासन कायम गर्ने श्वेतपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुस