बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । ​मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर बझाङ जिल्लालाई मंगलवार साक्षर जिल्ला घोषणा गरिएको हो ।

बझाङ जिल्लाका १२ वटै स्थानीय तहका १५ देखि ६० बर्ष उमेर समूहका निरक्षरहरुलाई १२ वटा मापदण्ड मध्ये ७ वटा मापदण्ड पूरा गरे अनुसार​ स्थानीयतहहरु यसअघि नै साक्षर घोषणा भइसकेका थिए ।

साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्र बमोजिम विभिन्न अभियान सञ्चालन गरेकाले मंगलबार औपचारिक रुपमा जिल्लालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुरेन्द्र बहादुर कडायतले बताउनु भयो ।

साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बझाङ जिल्लाका ९५ प्रतिशत जनसंख्या साक्षर भएपनि बाँकी रहेका ५ प्रतिशत पनि साक्षर हुनेगरी पूर्णरुपमा साक्षर जिल्ला घोषणा गर्नुपर्ने, अझै कतिपय बालबालिकाहरूले वीचमै विद्यालय छोड्ने भएकाले कसरी कम गर्न सकिन्छ। त्यसतर्फ समेत सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

त्यसैगरी जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङ जिल्ला मात्र हैन देशभर शिक्षा र मानवताको सन्देश फैलाउने जयपृथ्वी बहादुर सिंहलाई सोमबार मात्रै सरकारले १८ औँ राष्ट्रिय विभूति घोषणा गरेकोप्रति सरकारलाई धन्यवाद दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सुदुरपश्चिम प्रदेश सांसद शान्ति नेपालीले शिक्षा नै सबैभन्दा ठूलो धन भएकाले आगामी दिनमा बझाङ जिल्लालाई विभेद, हिंसारहित जिल्लाको रुपमा समेत घोषणा गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुस