बाजुराको बूढीगङ्गा नगरपालिकाको पालिका चुनावमा विवाद सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । बूढीगङ्गा नगरपालिकाको वडा नम्बर ९ को त्रिशक्ति माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा तनाव सिर्जना हुँदा हवाई फायर गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले जानकारी दिनुभयो ।

मतदानस्थलमा मत खसाल्ने क्रममा दुई पक्षबीच भनाभन भएको थियो । त्यसपछि हानाहानसमेत भएको थियो । हानाहान भएपछि बाहिरका मानिसभित्र छिर्न खोजेपछि झडप भएको अधिकारीले बताउनुभयो । केहीबेर तनावको अवस्था सिर्जना भए पनि अहिले भने फेरि अवस्था सामान्य भएर मतदान सुरु भइसकेको अधिकारीले बताउनुभयो ।

झडपका क्रममा केही व्यक्ति सामान्य घाइतेसमेत भएका छन् । बूढीगङ्गामा गएको वैशाख ३० मा पालिकाको चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विवाद भएपछि फेरि चुनाव गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो ।

प्रतिक्रिया दिनुस