कञ्चनपुर ,असार ,२४ । वर्षायाम सुरु भएसंगै सुदुरपश्चिम प्रदेशका पहाडि जिल्लाहरुमा सडक अवरुद्ध हुनेक्रम बढ्दै गएको छ । यसैविच लगातारको वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा समस्या भएको छ ।
वर्षाका कारण सडक हिलाम्मे भएका वेलावेला खस्ने पहिरोका कारण गाडी सञ्चालनमा समस्या भएको हो । बैतडीको जिल्लाको ढोल्यामोड–हाट, पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, सिल्लेगडा–कटौजपानी, देहीमाण्डौ–गिरेगडा सडकमा गाडी चलाउन निकै असहज भएको छ ।
यस्तै सिल्लेगडा–कटौजपानी, सतबाँझ–सुर्नया, अनारखोली–कैलपाल, सदरमुकाम–सेरा, खोचलेक–सित्तड, रिम लगायतका सडकमा सवारीसाधन चलाउन निकै समस्या रहेको छ ।
ग्रामीण सडक सुधार हुन नसक्दा वर्षाको समयमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरुले गुनासो गरेका छन् । यस्तै पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक हिलाम्मे हुँदा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ ।