सुदूरपश्चिम प्रदेशका धेरैजसो विद्यार्थीको हातमा नयाँ शैक्षिकसत्र सुरु भएको दुई महिना बित्नैलाग्दापनि अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशको आवश्यकतानुसार किताब उपलब्ध गराउन नसक्दा विद्यार्थीको हात खाली रहेको बताएको छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ सुदूरपश्चिमका अनुसार एक शैक्षिकसत्रमा सुदूरपश्चिम प्रदेशभरी २० लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । तर अझै ४० प्रतिशत पुस्तक अभाव रहेको जनाएको छ ।

जनक शिक्षा सामग्रीले मागभन्दा निकै कम पाठ्यपुस्तक पठाउनेगरेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष मेखराज दाहालले बताउनुभयो । उहाले अझै पनि ४० प्रतिशत पुस्तक अपुग रहेको बताउदै मागभन्दा निकै कम पुस्तक आउनेगरेकाले आफुहरुले सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगाउन नसकेका बताउनु भयो ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ सुदूरपश्चिमले आवश्यकतानुसार पुस्तक उपलब्ध नभएमा जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक नउठाउने चेतावनी समेत दिएको छ । सुदूरपश्चिम प्रदेशको मागलाई धान्नेगरी पुस्तक उपलब्ध गराउन माग गर्दै सुदूरपश्चिम प्रदेशका पुस्तक व्यवसायीले केन्द्रको धनगढीस्थित कार्यालयमा केही दिन अगाडि तालाबन्दीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुस