कञ्चनपुर ,साउन १० । कञ्चनपुरमा वन ऐन नियमावलीको विरोध गर्दै सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु र उपभोक्ताहरुले विरोध गरेका छन । वन ऐन खारेजीको माग गर्दै कञ्चनपुरमा मंगलवार सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु उपभोक्ताहरुले विरोध पर्दशन गरेका छन।
सामुदायिक वनका पदाधिकारीहरुले उपभोक्ताको अधिकार कुण्ठित गर्ने गरी ल्याएको वन नियमावली वन ऐेन स्वीकार्य नभएको भन्दै खारेज गर्नु पर्ने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मानन्द पन्तले सरकारले जोगाउन नसकेकाले टुहुरो अवस्थामा पुगेको वनलाई उपभोक्ताले संरक्षण गरेको बताउनु भयो ।
विगतमा जनयुद्धका वेलामा समेत उपभोक्ताले वन तथा पर्यावरण संरक्षण गरेका थिए। अहिले सामुदायिक वनको अधिकार खोस्ने गरी वन नियमावली ल्याएर उपभोक्ताको अधिकार कुण्ठित गर्ने कार्य गरिएको छ बताउदै भगवती सामुदायिक वनका अध्यक्ष केशव सिंह धामीले संविधानसँग बाझिने गरी ल्याएको वन नियमावलीले संरक्षणमा जुटेका समुदायलाई हतोत्साहित गरेको बताउनु भयो।
गणेश सामुदायिक वनका अध्यक्ष कृष्ण सिंह भण्डारीले नियमावली मार्फत उपभोक्तामाथि अंकुश लगाउने काम भएको बताउनु भयो। उहाले आपूर्तिमा ५० प्रतिशत काठ दिनुपर्ने व्यवस्था अन्यायपूर्ण भएको बताउनु भयो। सामुदायिक वनको ३० प्रतिशत काठ प्रदेशलाई दिनुपर्ने व्यवस्था अन्यायपूर्ण भएको भन्दै विरोध प्रदर्शन हुन थालेको हो ।