काठमाडौँ,साउन १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको ठहर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहित ८ जना विरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ ।

सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ नोक्सान पुर्‍याएको भन्दै अख्तियारले प्रदेश सचिव भुसाल, सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल, भण्डाररजिन्सी शाखा प्रमुख राम स्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दास, ओम सत्य साई प्रा।लि। वीरगन्ज, पर्सा र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै बोलपत्र मूल्यांकन समितिका अध्यक्ष रहेका उपसचिव दिलीपकुमार प्रधान, सदस्यसचिव सुरेन्द्रकुमार कर्ण, सदस्यहरु सीडीई झा, सहलेखापाल मण्डललाई पनि मुद्दा लगाइएको छ । सीडीई झा, सहलेखापाल मण्डललाई दोहोरो अभियोग लागेको हो ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम आरोपितहरु प्रदेश सचिव भुसालसँग १० करोड ३३ लाख ७५८ जरिवाना र कैद सजाय, सीडीई झालाई सोहीबराबर बिगो र भ्रष्टाचार निवारण ऐनको दफा १५ बमोजिम कैद सजाय र जरिवाना गर्न मागदाबी गरिएको छ । त्यस्तै सहलेखापाल मण्डल, ओम साई प्रालिका प्रबन्ध निर्देशक अग्रवाललाई पनि सोही बमोजिम बिगो कायम गरी, जरिवाना र कैद सजाय माग दाबी गरिएको छ ।

उपसचिव प्रधान, जिन्सी शाखा प्रमुख महतो, भण्डार शाखाका खरिदार दासलाई बिगो माग गरिएको छैन भने उनीहरुलाई भ्रष्टाचार ऐनबमोजिम कैद र जरिवाना तोक्न माग दाबी गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले दायर गरेको आरोपपत्रमा उल्लेख छ । कान्तिपुर बाट  न्युज र फोटो सभार गरिएको हो ।

प्रतिक्रिया दिनुस