कञ्चनपुर भाद्र १३ , कञ्चनपुरको शुक्लाफाटा नगरपालिका कलुवापुर हुदै दक्षिणी क्षेत्र वेलौरी जोड्ने सडकको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले सडक कालोपत्रको कार्य अगाडि बढ्ने बताउनुभएको छ ।कलुवापुर–बेलौरी सडक अवलोकनका लागि आज शुक्लाफाटा नगर पालिका वार्ड १ बन्शाह पुग्नुभएका मन्त्री बोहराले सडक निर्माणका लागि आवश्यक कानूनी अड्चन हटाई त्तकाल बजेटको व्यवस्था गरिने बताउनुभयो ।

सडक निर्माणको ठेक्का पाएको सन्तोषी थेगिम जेभीका ठेकेदारलाई मन्त्री बोहराले भन्नु भयो, “ठेक्काको म्याद थप्नेदेखि अन्य कानूनी अड्चन हामी फुकाउछौँ । सडक कालोपत्रको कार्य गर्नका लागि बजेट अभाव हुन दिइन्न । तुरुन्त कार्य प्रारम्भ गर्नोस् ।”ठेकेदार कम्पनीका प्रतिनिधिले रकमकै अभावले सडक निर्माणको कार्य अगाडि बढ्न नसकेको सोहीक्रममा बताउनुभयो । बजेटको अभाव नहुने भएपछि कार्य दु्रतगतिमा अगाडि बढाइने ठेकेदार प्रतिनिधिले मन्त्री बोहरालाई बताउनुभयो ।

सोही क्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “मन्त्री ज्यूले कानूनी अडचनदेखि बजेटको व्यवस्था गर्छु भनिसक्नुभएको छ । गुणस्तरीय कार्य तत्काल अगाडि बढाउनोस् ।” सोही क्रममा मन्त्री बोहरासहितको टोलीले शुक्लाफाँटा नगरपालिका– १ वैशाखा बस्तीमा स्याली नदीले जग्गा कटान गरेको क्षेत्रको अवलोकनसमेत गर्नुभयो ।कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र प्रदेशसभा सदस्यलाई भेटेर जानकारी गराउँदै आए पनि सडक निर्माणले गति लिन सकेको छैन । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्र नहुँदा निकै मार्कामा परेको वडाध्यक्ष हरिष विष्टले बताउनुभयो ।

स्थानीय बासिन्दाले खाल्डाखुल्डी र धुलाम्मे भएको सडकमा असहजरुपमा यात्रा गर्नुपरेको छ । सन्तोषी–थेगिम जेभीले विसं २०७३ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो ।सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले विसं २०७५ भदौ १५ गतेभित्र निर्माण कार्य सक्नुपर्ने थियो । रु १८ करोड २० लाखमा निर्माण गर्ने सम्झौता भएको छ । अहिलेसम्म निर्माण कम्पनीले रु चार करोड ४४ लाख भुक्तानी लिएको छ । सडक निर्माणको कार्यमा ग्राभेल राख्ने कार्य केही ठाउँमा भएको छ ।

प्रतिक्रिया दिनुस