महेन्द्रनगर, भदौ २० ,भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले चर्को मुल्यमा तलब माग फाराम भर्नु पर्ने गरेको पाइएको छ । भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले भर्नु पर्ने तलब माग फारामको शूल्क चर्को भएको आरोप लगाएका छन् ।
बिगतका बर्षको तुलनामा यस बर्ष भरिएको माग फाराममा दोब्बर बढि शुल्क तिर्नु परेको शिक्षकहरुको भनाइ छ । बिगतका बर्षहरु भन्दा यस बर्ष माग फाराममा ‘भीमदत्त नगरपालिका’ उल्लेखित भएको हुनाले शुल्क दोब्बर तिर्नु परेको नाम गोप्य राख्ने सर्तमा एक जना शिक्षकले बताए ।
बिगतका बर्षमा ५ रुपैया मा पाइने तलब माग फाराम यस बर्ष ‘भीमदत्त नगरपालिका’ उल्लेख गर्नु पर्ने भएपछि दोब्बर भन्दा बढि अर्थात १२ रुपैयामा किन्नु परेको उनको कथन छ । ‘अगाडिका बर्षमा ५ रुपैयामा पाइन्थ्यो । यस बर्ष फारामबापत सिधै दोब्बर शुल्क लिने गरिएको छ ।’ नाम गोप्य राख्ने सर्तमा शिक्षकले भने, ‘फाराममा भीमदत्त नगरपालिका उल्लेख गर्नु परेपछि शुल्क बढि लिइएको हो ।’ शिक्षकहरुले भर्नु पर्ने उक्त तलब माग फाराम महेन्द्रनगरको एक स्थानबाट मात्र पाइने गरेको छ ।
‘भीमदत्त नगरपालिका’ इकित तलब माग फाराम सोही स्थानबाट १२ रुपैयामा किन्नु परेको शिक्षकहरुको भनाइ छ । केही दिन अगाडि बसेको नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकमा समेत ‘भीमदत्त नगरपालिका’ उल्लेख भएको माग फाराम सोही स्थानमा पाइने र त्यहाँबाट लैजान भनिएको शिक्षकहरु बताउँछन् ।
महेन्द्रनगरको एक स्थानबाट फारामहरु पाइने भन्दै एकलौटी ढङगले त्यही ठाउँबाट चर्को शुल्कमा फाराम वितरण गर्न खोजिएको शिक्षकहरुका आरोप छ । महेन्द्रनगर बजारमा यस अघि फाराम ५ रुपैयाको सर्वत्र पाइने तर हाल भने ‘भीमदत्त नगरपालिका’ इकित फाराम १२ रुपैयाको किन्नु पर्ने बाध्यता शिक्षकलाई रहेको छ । भीमदत्त नगरपालिकाको मिलेमतोमा बजारमा एक ठाउँबाट मात्र फारामका लागि दिएको आशंका व्यक्त गरिएको छ ।
नितिगत रुपमा भित्रभित्रै व्यापारीसंगको सेटिङ्गमा ‘भीमदत्त नगरपालिका’ उल्लेखित फाराम बिगतभन्दा बढि शुल्कमा किन्नु परेको शिक्षकको भनाइ छ । ‘थोरै पैसाको बिषय भएकाले बोलेका थिएनौँ, थोरै थोरै गरेर नै यसरी नितिगत रुपमा भ्रष्टाचार हुदैछ ।’ एक शिक्षकले भने ।
उता तलब माग फाराम शिक्षक स्वयमले बनाउनु पर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षक स्वयमले घरमै बनाउन सक्ने फारामलाई बजारबाट शूल्क हालेर किनिराख्नु नपर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत पुस्कर भट्टले बताए । ‘यसमा हाम्रो केही छैन, खासमा यो फाराम शिक्षक आफैले बनाउनु पर्ने हो ।
बजारबाट किनिराख्नु पर्ने अवस्था नै रहदैन ।’ उनले भने, ‘भीमदत्त नगरपालिका उल्लेख भएको फाराम ल्याउने कुरा भएको हो तर कुनै एउटा निश्चित स्थानबाट ल्याउने भनिएको छैन ।’ केही दिन अगाडी तलब माग फारामको नमूना आफुहरुले दिएको दिएको र त्यही अनुसारको फाराम बनाएर ल्याउन भनिएको थियो । शिक्षक आफैले निर्माण गर्नु पर्ने फाराम बजारबाट किन्दा व्यापारीहरुले आफ्नो नियम अनुसार शुल्क लगाउन सक्ने र सो शूल्क लगाउने कुरामा नगरपालिकाको कुनै भूमिका नरहने भीमदत्त नगरपालिकाका कर्मचारीले बताए ।
प्रत्येक चार÷चार महिनामा शिक्षकहरुले तलब माग फाराम भर्नु पर्ने हुन्छ । भीमदत्त नगरपालिका अन्तर्गत करिब ५२ वटा सामुदायिक विद्यालय रहेका छन् । प्रत्येक विद्यालयमा बढिमा २÷३ वटा तलब माग फाराम शिक्षकहरुका लागि आवश्यक पर्छन ।

प्रतिक्रिया दिनुस