महेन्द्रनगर, २० भदौ , कञ्चनपुरका विभिन्न स्थानीय निकाय र अन्य कार्यालयहरुका सरकारी गाडीमा जनप्रतिनिधी तथा कर्मचारीहरुका आसेपासेहरुको रजाई हुने गरेको पाइएको छ । उच्च तहका सरकारी कर्मचारी र स्थानीय तहका वडाध्यक्ष देखि मेयर उपमेयरहरुको गाडी सम्ममा उनका भरौटे तथा आसेपासेहरुको मस्ती तथा रजाई हुँने गरेको हो ।
कार्यालय समयमै समेत सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधीले उक्त सरकारी नम्बर प्लेटको दुई पाङ्ग्रे र चार पाङग्रे गाडी आफ्ना आफन्त, कार्यक्रता र चाकडीयाहरुलाई निर्वाध रुपमा दिएको समेत पाइन्छ ।
कतीपय कर्मचारी तथा जनप्रतिनिधीहरुले सरकारी नम्बर प्लेटको गाडीलाई आफन्त घुमाउने साधनका रुपमा पटक–पटक प्रयोग गरेको समेत भेटिन्छ । श्रीमती,छोरा,छोरी,आफन्त,घरपरिवार तथा भरौटेलाई सरकारी गाडी र सरकारी ईन्धनमा नै ‘टूर’ अर्थात भ्रमणमा पठाएका तथ्यहरु समेत फेलापारेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले सार्वजनिक सेवाभन्दा पनि व्यक्तिगत सुविधालाई प्राथमिकतामा राखेर सवारी साधनको प्रयोग गरिरहेका छन् । कञ्चनपुरको सदरमुकाम समेत रहेको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफााटा नगरपलिका, पुनर्वास नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाँडी गाउँपालिकाका वडाध्यक्षदेखि गाउँ र नगरपालिकाका प्रमुख, उपप्रमुख अधिकांशले सरकारी साधनको दुरुपयोग गरिरहेका छन् ।
७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरका सबै तहका प्रमुखका लागि अलग्गै सवारीसाधन छन् । केहीमा २ वटा पनि छन् । स्थानीय तहले सवारीसाधन र तिनका लागि इन्धन खर्चमा मात्रै करोडौं खर्च गर्दै आएका छन् । अधिकांश तहले वडाध्यक्ष र कार्यपालिका सदस्यलाई पनि मोटरसाइकल खरिद गरेका छन् । तर केही वडाध्यक्ष मोटरसाइकल चलाउन सक्दैनन् । मोटरसाइकल चलाउन नसक्नेहरुले चालकसमेत राखेका छन् । सवारीसाधनको प्रयोग नेता, कार्यकर्ता बोक्न र घरायसी काममा भइरहेको पाइन्छ ।
कतिपयले त आफन्तलाई समेत दिने गरेका छन् । ‘स्थानीय तहका सवारीसाधनको प्रयोग सरकारी तालमै भइरहेको छ,’ बेदकोट नगरपालिकाका दीपक जोशीले भने, ‘सबैले आफूअनुकूल घर र आफन्तको काममा लगाएकै छन् ।’ कतिपयको गाडी त नेता कार्यकर्ता बोक्न दैनिक विमानस्थल गइरहेको देखिन्छ । स्थानीय तहका जनप्रतिनिधि चढ्ने सवारीसाधन महेन्द्रनगर तथा आसपासका क्षेत्रमा मदिरा पसलअघि देख्न सकिन्छ । केही महिनाअघि एक वडाध्यक्ष महेन्द्रनगरमा मदिरा पसलबाहिर मोटरसाइकल राखेर भित्र बसेका बेला नेविसंघका विद्यार्थीले हातपात गरेका थिए । उनले भने आफन्तसँग बसेर खाजा खाइरहेको अवस्थामा हातपात गरेको दाबी गरेका थिए ।
यस्तै एक दुई हप्ता अगाडि समेत महेन्द्रनगरमा एउटा सरकारी मोटर साइकलको दुरुपयोग भएको थियो । मध्यराती बेवारिसे अवस्थामा बजार क्षेत्रमा सिँचाइको सरकारी नम्बरको मोटरसाइकल भेटिएको थियो । त्यसपछि मोटरसाइकललाई स्थानीय युवाहरुले बुझाएका थिए । स्थानीय तहका प्रमुख र उपप्रमुखबीच गाडीकै विषयमा समेत मनमुटाव भएको देखिन्छ । योजना अनुगमन समितिको संयोजक उपप्रमुख हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुस