सुवर्ण प्रशाद जोशी
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार दिपक बहादुर सिहले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन ।
काँग्रेस महाधिवेशन सदस्य समेत रहेका सिहले यस पटक आफ्नै उम्मेदवार रमेश लखेक बिरुद्धमा बागी उम्मेदवारी दिदै चुनावमा होमिएका हुन ।
स्वतन्त्र काँग्रेस बागी उम्मेदवार सिहले क्षेत्रका विभिन्न अधिकाँस वडाहरुमा सम्पर्क कार्यालय खोलेर घोषणा पत्र सार्वजनिक गरेका छन ।

घोषणापत्र सार्वजनिक गर्दै सिंहले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र विकासलाई प्राथमिकता दिने प्रतिवद्धता गरेका छन । घोषणापत्रमा महाकाली प्रादेशिक अस्पताललाई मेडिकल कलेज, दुग्धजन्य उद्योगमा लगानी गर्ने, कृषिमा प्राथमिकता दिएका छन ।

हरेक वडामा स्वास्थ्य चौकी, बिपन्न परिवारका विद्यार्थीलाई निशुल्क उच्च शिक्षा, ब्रम्हदेवको सिद्धबाबाबाट झिलमिलासम्म केवलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन, दोधारा चादनी र भीमदत्तलाई स्मार्ट सिटी बनाउने उल्लेख गरिएको छ।

यस्तै, दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा योग तथा ध्यान केन्द्रहरु सञ्चालन, हरेक वडामा खेल मैदान निर्माण, स्वच्छ खानेपानीको दीगो व्यवस्था, दोधारा चाँदनीमा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह निर्माण, दोधारा चाँदनीमा औद्योगिक क्षेत्रका लागि पहल गर्नेलगायतका विषयलाई उनले घोषणापत्रमा समेटेका छन ।

घोषण पत्र सार्वजनिक गर्दै सिहले आफ्नो उम्मेदवार कुनै व्यक्ति पार्टी विशेष भन्दा पनि राजनीतिक पुस्तान्तरणका लागि भएको बताए । ‘अहिले क्षेत्र ३ मा काँग्रेस–माओवादी र एमाले–राप्रपा विच गठबन्धन भएको छ, ‘सिहले भने, ‘यो राजनीतिक सत्ताका लागि मात्रै हो, जनताको सेवाका लागि होईन ।’ पाटीका आधिकारिक उम्मेदवार बिरुद्धमा बागी दिएको भन्दै नेपाली काँग्रेसले समेत कार्बाही गरेका सिहले आफु कुनैपनि हालतमा पाटीमा नफर्किने बताए ।

स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिंहको अपिल तथा प्रतिबद्धता यस्तो छ
आदरणीय मतदाता आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु,
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ को समग्र विकासको परिकल्पना र योजना लिएर स्वतन्त्र उम्मेदवारको रुपमा तपाईंहरु सामु उपस्थित भएको छु । नेपालकै सुदूरपश्चिमको तराइको अन्तिम जिल्ला कञ्चनपुरको अन्तिम निर्वाचन क्षेत्र नं. ३ को पश्चिमी भाग भारतसँग जोडिएको छ । यसै
क्षेत्रमा पर्ने गड्डाचौकी नाकामा एकैछिन उभिदा पनि हाम्रो देशको वास्तविकता छर्लङग हुन्छ । हरेक दिन यसै नाका भएर कामको खोजीमा सयौ दाजुभाईंहरु विदेशिन बाध्य छन्। उर्जाशिल उमेर, सार्मथ्य र जवानी भारतमा बिताउन बाध्य यी दाजुभाईंहरुका लागि स्वदेशमै उपयुक्त रोजगारीको अवसर सृजना गर्न किन सकिएको छैन् ? यो प्रश्न स्वभाविक रुपमा प्रत्येक नेपाली जनहरुको मस्तिष्कमा उब्जिन्छ । हाम्रा नेतृत्व गण जनप्रतिनिधिहरु जो पटक–पटक सत्ताको शिखरमा पुगे, तिनले गड्डाचौकीको दृष्य टुलुटुलु नियालिरहेका छन्, तर त्यसको समाधान गर्न तर्फ उनीहरुको ध्यान जान सकेको छैन्। यस्तो बिडम्बनायुक्त अवस्था अन्त्यका लागि उनीहरुले कुनै प्रयास गरेको देखिएको छैन् । हाम्रो मुलुकमा व्यवस्था परिवर्तन भयो, जनताको अवस्था परिवर्तन हुन सकेको छैन् । २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापित भयो । ०६२÷०६३ को दोस्रो जनआन्दोलनको जगमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो। हामी अहिले तीन तहको सरकारको अभ्यास गरिरहेका छौँ । ‘गाउँ गाउँमा सिंहदरबार, घर–घरमा सेवा’ भन्दैँ नारा त दिइरहेका छाँै । तर वास्तविक पीडित, बिपन्न, दलित र जनजाती, सीमान्तकृत समुदायले त्यसको प्रतिफल पाउन सके की
सकेनन् ? सच्चा नेपालीले एकपटक छातिमा हात राखेर इमान्दारिता पूर्वक सोचबिचार गर्ने हो भने वास्तविकता आफैँ पत्ता लाग्छ । हरेक राजनीतिक दलहरुले चुनावका बेला सस्ता र मिठा प्रतिवद्धता गर्ने, घोषणापत्र बनाउने काम त गरिरहेका छन् । तिनको कार्यान्वयन किन हुन सकेको छैन् । किन यस्तो इच्छा शक्ति दलका नेताहरुमा देखिएको छैन्, यो प्रश्न गर्नुपर्ने जरुरी छ। कर्मचारी प्रशासनमा राजनीति हाबी गराइएको छ । राष्ट्र सेवक कर्मचारीहरु कुनै न कुनै दलका सुभेच्छुक संघ र संगठनहरुमा बस्न बाध्य पारिएको छ । सबै पेशा, व्यवसायका व्यक्तिहरु राजनीतिको मारमा परेका छन् । इमान्दार कर्मचारीले काम गर्ने वातावरण नै छैन् । हुदाहुँदै सबैको आशा र भरोसाको अन्तिम केन्द्र न्यायपालिकामा पनि राजनीति घुसाएर जनविश्वास नै खलबलिने जस्ता कामहरु भएका छन् । राज्यका स्वतन्त्र अंगहरुमा राजनीतिक दलहरुको बढ्दो हस्तक्षेप,
मौलाउदै गएको भ्रष्टाचार, अनियमितता र बेथिति र भागबण्डाले गर्दा देश झन संकट उन्मुख भएको कुरा सबैमा जगजाहेर भएकै विषय हो । राजनीति विशुद्ध रुपमा जनताको सेवासँग जोडिएको विषय हो । जनता र राष्ट्रको सर्बोपरि हितलाई केन्द्रमा राखेर राजनीति गरिनुपर्छ । पटक–पटक एउटै व्यक्ति राजनीतिको केन्द्रमा पुग्ने, राजनीतिलाई सेवा होइन्, आजीवन पेशा बनाउने जस्ता कार्यले यो क्षेत्रतर्फ जनताको बितृष्णा बढ्दो छ ।
त्यसैले राजनीतिमा युवाहरुको उपस्थिति जरुरी छ । पटक–पटक परीक्षण भइसकेका, सत्ता र शक्तिको मात लागेकाहरुलाई फेरि पनि जितायौँ भने हामी भोलिका दिनमा पछुतो गर्नुपर्ने अवस्थामा पुग्ने छौँ । पार्टीमा भएको सिन्डिकेट र दुई पटक भन्दा बढी एकै जना सत्तामा जादा भ्रष्टाचारले जरा गाडछ । त्यसैले लोकतान्त्रि बीधि पद्धतिको मर्यादा बढाउन एकै व्यक्तिले पद ओगटनु हुदैन । एउटै व्यक्तिले पटक पटक मौका पाउदा युवावर्गको राजनीतिमा जाने बाटो अवरुद्ध हुने गरेको छ ।
त्यसैले मतदान गर्दा एकपटक माथिको विषयलाई हृदयगम गरी आफ्ना मत जाहेर गर्न हार्दिक अनुरोध गर्दछु । राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने हो । नेताहरुले आवाजविहीनहरुको आवाज बन्न सक्नुपर्ने हो । यस्तो हुन नसक्दा स्वभाविक रुपमा राजनीति प्रति बढ्दो अरुचीले हामीले परिकल्पना गरेको देश बन्छ त ? जनताले दिएको बहुमत सम्हाल्न नसक्ने, प्रतिनिधिसभा भंग गर्ने, संबिधान माथि पटक–पटक प्रहार गर्ने, सत्तामा जानकै लागि पार्टी फुटाउन बिधेयक ल्याउने, अस्थिरता निमत्याएर स्वार्थसिद्ध गर्ने जुन अप्राकृतिक घटनाहरु बिगतमा भए, ती पुन ः नदोहोरिएलान भन्न सकिन्न । त्यसैले जनताहरुले मतदान गर्दा एक पटक होइन्, पटक–पटक सोचविचार गर्न अनुरोध गर्दछु । गठबन्धन के का लागि ? सत्ता र स्वार्थ केन्द्रीत गठबन्धनको अर्थ के हो ? अलग–अलग घोषणापत्र बनाउने ? उद्धेश्य सत्ता प्राप्ति
राख्ने ? सिद्धान्त, आस्था र विचार बेगरको गठबन्धन सत्ता प्राप्ति नै हो भन्ने कुरा घाम जत्तिक्कै छर्लङग भइसकेको छ । आज गठबन्धनका नाममा एउटै मञ्चमा देखिने गरेका नेताहरु मंसिर ४ पछि पनि त्यसरी नै एउटै मञ्चमा देखिएलान ? यसको विश्वसनिय आधारहरु देखिदैनन् । सत्ता राजनीतिलाई केन्द्रीत गरेर पार्टी फुटाउने, संसदीय व्यवस्थाको मर्यादालाई कायम नराख्ने पात्रहरु नै अझै विकास गर्छु भन्दै भोट मागिरहेको अवस्था छ । नेताहरु पार्टी फुटाउने र बनाउने खेलमै संलग्न भइरहेका छन् । उनीहरुले युवा मैत्री वातावरण तयार गरेका छैनन् । बरु पार्टीको भातृ र
सुभेच्छुक संगठनहरु बनाएर उनीहरुलाई अल्झाइरहेका छन् । युवाहरुलाई उत्पादनमुखी र व्यवसायीक कामतर्फ नलगाएर उनीहरुको भविष्य नै अन्धकारमा धकेलिरहेका छन् । युवाहरु आफ्नो मूल्यबान समय राजनीतिमा खर्चिरहेका छन् । युवा बर्गको उर्जालाई प्रयोग गरेर देशलाई समुन्नत बनाउने ढंगको नीति राज्यले लिन सकेको छैन । नेताहरुको चुनाव लड्ने स्रोत के हो ? कुनै पेशा र व्यवसायमा संलग्न नभएका नेताहरुले सम्पति कसरी कमाए ? मत माग्न तपाईंको घरदैलोमा आउने उम्मेदवारलाई एक पटक यस्ता प्रश्न गर्न अब ढिलाई गर्नुहुदैन । लोकतन्त्राकि गणतन्त्रमा दलबिहीन अवस्थाको कल्पना सम्म पनि गर्न सकिदैन । तर दलहरुले राम्रोसँग काम गर्न नसकेकै कारण आज हरेक क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुले चुनौती दिने अवस्था आएको छ । बैकल्पिक राजनीतिका लागि पनि युवाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ । आजका स्वतन्त्र उम्मेदवार दलहरुकै कारण जन्मिएका हुन्। म चुनावी मैदानमा आएका छु । बाहिर बसेर राजनीति खत्तम भयो भनेर विरोध गर्नुभन्दा यसै क्षेत्रमा लागेर धमिलिएको राजनीतिलाई सेवा भावको उद्धेश्यले मतदाताको माझमा आएको हु । राजनीति प्रति युवाहरुको बढ्दो बितृष्णालाई आशामा परिणत गर्ने मेरो ध्येय छ ।
अहिले नै धेरै काम गछौँ भनेर ठूला नारा दिदैन । सिमित स्रोत साधनका बाबजुत आफ्नो ठाउँबाट गर्नसक्ने सामाजिक सेवा र समानतामुलक समाज बनाउनका लागि आवाज उठाउछु। आर्थिक जोहोका लागि यो क्षेत्र रोजिएको होइन्, जनताको सेवा गर्नका लागि, उनीहरुको जीवनस्तर माथि उकास्नका लागि, केही आशा र भरोसा दिलाएर न्यायपूर्ण समाजको परिकल्पनाका साथ यो क्षेत्रमा आएका छु । जनतालाई शीर माथि राखेर इमान्दारितापूर्वक काम गर्ने र यहाँहरुकै सामिप्यतामा रहेर सबै मिलि विकास र समृद्धिको यात्राका लागि आब्हा्न गर्दछु । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसमक्ष दलित, जनजाति, बिपन्न, अल्पसंख्यक, सीमान्तकृत, निमुखा बर्ग, समुदायको आवाजलाई नीति, निर्माणको तहसम्म पु¥याउने छु । जब सम्म यो समुदायलाई राज्यको मूल प्रबाहमा ल्याइदैन तबसम्म समुन्नत समाज र लोकतन्त्र बलियो हुदैन । यी विविध समस्याहरुको समाधानका लागि विषयविज्ञहरुसँग आवश्यक राय, परामर्श र योजना बनाएर जाने छु । राजनीति सग्लो भयो भने विकासले आफै गति लिन्छ र विकास असम्भव छैन ।
ठूला र चर्का नारा दिएको छैन। कञ्चनपुर क्षेत्र नं. ३ को सम्भाव्यता अध्ययन गर्दै आफ्नो स्तरबाट गर्न सकिने कामहरुका लागि पुन ः प्रतिवद्धता व्यक्त गर्दछु ।
कृषि क्षेत्र ः
–अनुदानमा भइरहेको बेथिती रोकेर उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिने छु ।
–उत्पादनमुखि कृषि क्षेत्रमै रोजगारी सृजना गर्ने छु ।
–कृषिमा आधुनिकीकरणमार्फत उत्पादन बृद्धिसंगै यसलाई सम्मानको
पेशा बनाउने छु ।
–नगदे वालीमा विशेष जोड दिइने छ ।
–फलफूल उत्पादनमा विशेष प्राथमिकता दिइने छ ।
–कृषि उद्योग स्थापना गरेर रोजगारीको वातावरण सृजना गरिने छ ।
–दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा कृषि संकलन केन्द्र स्थापना गरिने छ ।
–दुग्ध संकलन केन्द्र स्थापना, दुग्धजन्य उद्योगमा लगानी गरिने छ ।
–कृषि उत्पादनलाई बजारसम्म पु¥याउन कृषि उत्पादन वाहन सञ्चालन गरिने छ ।
–तरकारी भण्डारणका लागि भीमदत्त नगरपालिका र दोधारा चाँदनीमा एक÷एक चिस्यान केन्द्र स्थापना गरिनेछ ।
–रासायनिक मलको सहज आपुर्तीको लागि पहल गरिनेछ ।
–दोधारा चाँदनीलाई परबलको पकेट क्षेत्र बनाइनेछ ।
–भीमदत्तको राजमार्ग उत्तरको क्षेत्रलाई केरा पकेट क्षेत्र बनाइनेछ ।
–कृषि र पशु वीमामा जोड दिइने छ ।
–कृषि विज्ञान वा अन्य व्यवासयिक शिक्षालाई अनिवार्य विषय बनाएर पठनपाठन गर्ने नीति ल्याउन पहल गरिनेछ ।
स्वास्थ्य ः
–महाकाली प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रुपमा बिस्तार गरिनेछ ।
–हरेक वडामा स्वास्थ्य चौकी स्थापना गरिनेछ
–स्वास्थ्य वीमालाई प्राथमिकता दिइने छ ।
–दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरि थप विशेषज्ञ डाक्टर ल्याउन पहल गरिनेछ ।
–दलित, जनजाती र विपन्न वर्गलाई निुशल्क स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ ।
–भीमदत्त र दोधारा चाँदनीमा सर्पदंश उपचार केन्द्र स्थापना गरिनेछ ।
वन तथा वातावरण ः
–सामुदायिक वनमा जडीबुटी खेती गरेर रोजगारी सृजना गरिनेछ
–सामुदायिक वनको संरक्षणसंगै पर्यटन विकासमा जोड दिइनेछ
–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई प्रमुख गन्तब्यमा रुपमा विकास गरी पर्यटक भित्र्याउन प्रचार प्रसारमा जोड दिइनेछ ।
–निकुञ्जभित्र सफारीका लागि बाह्रै महिना चल्न सक्ने बाटो निर्माण गरिनेछ ।
–निकुञ्ज किनारमा वन्यजन्तुबाट हुने मानवीय तथा वालीनालीको क्षति न्यूनिकरणका लागि पहल गरिनेछ ।
–वन संरक्षणका लागि रुख बिरुवा र घाँस रोप्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
शिक्षा ः
–भीमदत्त र दोधारा चाँदनीका सबै विद्यालयलाई जस्ताको छाना मुक्त बनाइनेछ ।
–स्थानीय तहहरुसँग समन्वय गरेर सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरिनेछ ।
–छात्राहरुलाई निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिनेछ
–सबै विद्यालयमा सरकारी दरबन्दीका शिक्षक पदपुर्ती गर्न पहल गरिनेछ ।
–बालबालिकालाई
अनुशासित बनाउन नैतिक शिक्षामा जोड दिइनेछ ।
–सुदूरपश्चिम विश्वविद्यालयलयमा जडिबुटी, आयुर्वेद, पर्यटन र वातावरण लगायतका विषयको पठन पाठन सुचारु गरिनेछ ।
–सुदूरपश्चिम विश्वविद्यालयलाई व्यवस्थित र आन्दोलन मुक्त बनाइनेछ ।
–अति बिपन्न दलित, जनजाति र सीमान्तकृत समुदायका विद्यार्थीलाई निशुल्क रुपमा उच्च शिक्षाको सुरुवात गरिने छ।
रोजगारी ः
–कृषि उद्योगतर्फ युवालाई आकर्षित गरिनेछ ।
–लघु उद्योग स्थापना गरेर भीमदत्त नगरपालिकामा र दोधारा चाँदनी नगरपालिकामा रोजगारीका अवसर सृजना गरिनेछ ।
–नदीजन्य पदार्थको उत्खननलाई व्यवस्थित गरेर थप रोजगारी सृजना गरिनेछ ।
–सीपमुलक तालिम प्रदान गरेर स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
विकास निर्माण ः
–दोधारा चादनी र भीमदत्तलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने छु ।
–दोधारा चाँदनीमा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह निर्माणमा विशेष जोड दिइनेछ ।
–दोधारा चाँदनीमा औद्योगिक क्षेत्रका लागि पहल गरिनेछ ।
–दोधारा चाँदनी र भीमदत्त नगरपालिकाको सडक सुविधा
नपुगेको स्थानमा सडक सञ्जाल विस्तार गरिनेछ ।
–महाकाली सिंचाई आयोजना तेस्रो चरण अनतरगत ब्रम्ह्देव नहरको निर्माणको गति बढाउनुका साथै दोधारा चाँदनीमा तत्काल नहर निर्र्माणको काम सुरु गरिनेछ ।
–दोधारा चाँदनी र भीमदत्त मिलाएर उपमहानगरपालिका निर्माणका लागि पहल गरिनेछ ।
–दुवै नगरपालिकामा स्वच्छ खानेपानीको दीगो व्यवस्था गरिनेछ ।
–महाकाली तटीय क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमा वनभोजस्थल निर्माण गरिनेछ ।
–खल्ला मुसेट्टी जोडन सडक स्तरोन्नति गरिनेछ ।
–खल्ला मुसेटटीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने छु ।
–भारत उत्तराखण्डको पुर्णागिरी हुदै खल्लाको प्राचिन सिद्धबाबा, ब्रम्हदेवको सिद्धबाबा, झिलमिला ताल, भम्केनी धाम, विष्णुधाम, रौटेला
वैजनाथ मन्दिर हुदै महेन्द्रनगरको सिद्धबाबा मन्दिर र शिबधामलाई जोडेर धार्मिक सर्किटमा जोडने छु ।
–ब्रम्हदेवको सिद्धबाबाबाट झिलमिलासम्म केवलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने छु ।
–दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा योग तथा ध्यान केन्द्रहरु
सञ्चालन गर्ने छु ।
–महाकाली नदीको बहुउपयोग (जल विहार, माछा संरक्षण, सिंचाई नदी कटान नियन्त्रण) गर्ने छु ।
सबै वडामा विद्युत विस्तारसंगै नियमित आपुर्ती गर्ने छु ।
खेलकुद ः
–कबड्डी, भलिबल, हक्की र क्रिकेट खेललगायतको विकास र प्रबद्र्धनका लागि उपयुक्त खेलमैदानको व्यवस्थापन गर्ने छु ।
–राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान र जीविकोपार्जनका लागि उचित व्यवस्था गर्ने छु ।
–हरेक वडामा खेल मैदान निर्माण गर्ने छु । दोधारा चादनीमा कभर्ड हल निर्माण गर्ने छु।
–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रशिक्षण केन्द्रहरु सञ्चालमा जोड दिने छु ।
विबिध
–अव्यवस्थित बसोबासी, भूमिहीन, दलित र विपन्न वर्गका लागि उचित आवाससहितको नमुना बस्तीको बिकास गर्ने छु ।
–सामाजिक सुरक्षा
गरिबीका कारण न्यायबाट बञ्चित भएकालाई निशुल्क न्याय सेवा दिने छु ।
व्यवस्थित बृद्धाश्रम सञ्चालन गर्ने छु । कुलतमा लागेकाहरुलाई कुलतबाट छुटाउन आवश्यक कार्यक्रम
सञ्चालन गर्ने छु । सुधार गृह सञ्चालन गर्ने छु ।
टुहुरा वालवालिकाका लागि अनाथालय सञ्चालन गर्ने छु । छाडा चौपाया व्यवस्थापनका लागि पहल गर्ने छु । सुदूरपश्चिमको लोक कला र संस्कृतिको संरक्षण संबद्र्धनका लागि
प्रोत्साहनमुखि कार्यक्रम सञ्चालन गर्ने छु ।
नदी नियन्त्रण
बाढी र कटान नियन्त्रणका लागि चुरेबाट बग्ने नदी नालामा तटबन्ध निर्माण गर्ने छु । जोगबुडा र महाकाली नदीबाट भइरहेको कटान, डुबान र पटान नियन्त्रणका लागि स्तरीय र दिगो बाँध निर्माण गरेर नियन्त्रण गर्ने छु ।
चुरे क्षेत्रमा आउने पहिरो राकेथामका लागि बृक्षारोपाण कार्यक्रम सञ्चालन गर्ने छु ।दोधारा चाँदनीको जोगबुडा पारीका कुतियाकवर, सुन्दरनगर, कञ्चनभोज र बडुवाल टोललाई सुरक्षित र व्यवस्थित वस्तीका रुपमा विकास
गर्ने छु । सार्बजनिक स्थानहरुमा शौचालय निर्माण, सडक बत्ती जडान र बिद्युत नपुगेको ठाउँमा त्यसको पहूच पुगाइने छ। दुर्गमका बस्तीमा मोबाइल टावर र इन्टरनेट सेवा बिस्तारका लागि पहल गर्ने छु भन्दै प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस