कञ्चनपुर मंसिर ,५ । बाजुरामा रातिको समय घरमा आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन ऐडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।
बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुर्य थापाले कुटपिटबाट गम्भीर घाइते भएका ऐडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर ऐडीमाथि आक्रमण गरिएको हो । ऐडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।
आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र ऐडीको मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।