कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापनको माग अघि सारेर स्थानीय किसान एव केही नागरिक अगुवा राजनीतिक दलका नेता कार्यकर्ताले आन्दोलन गरिरहेका बेला नगरपालिकाले छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेको जनाएको छ ।

मंगलबार नगर कार्यपालिकाको बैठक र बुधबार सर्वदलिय बैठक आयोजना गरेको नगरपालिकाले नगर क्षेत्रमा रहेका सामुदायिक पशु चौपायाको दिगो व्यवस्थापका लागि अघि बढ्ने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकले स्थायी रुपमा छाडा पशु चौपाया व्यवस्थापन नहुँदासम्म हरेक वडा र नगरपालिका कार्यालय परिषर क्षेत्रमा व्यवस्थापन गर्ने निर्णय भएको जनाएको छ ।

बेदकोट नगरपालिका नगर कार्यपालिका सदस्य महेशराज जोशीले कार्यपालिका निर्णय सार्वजनिक गर्र्दै सबै वडामा कान्जी हाउस निर्माण गरेर अल्पकालिन रुपमा छाडा पशु चौपाया व्यवस्थापन गरिने बताए । ‘अहिले बेदकोट नगरका १०वटै वडाहरुमा अस्थायी रुपमा कान्जी हाउस निर्माण गरेर राख्ने निर्णय भएको छ, ‘उनले भने, ‘दिर्घकालिन रुपमा समाधान गर्न कार्यपालिका एकमत भएको छ ।’

बुधबार सर्वदलियक बैठकको निर्णय सार्वजनिक गर्दै बेदकोटका कार्यपालिका सदस्य नरेश सिहले चुरे क्षेत्रमा मृत भेटिएका पशु चौपाया र गाडिएका पशु चौपायाबारे छानबिन समिति बनाउने निर्णय भएको बताए । सिहका अनुसार पशु शाखा प्रमुख तर्कराज भट्टको संयोजकत्वमा स्थानीय प्रहरी सहित, सातदिन भित्र छानबिन गरेर प्रतिवेदन बुझाउने र दिगो व्यवस्थापनका लागि कृषि शाखा प्रमुख देवराज बडू संयोजकत्वमा समिति गठन गरेर १५ दिनभित्रै प्रतिवेदन बुझाउने निर्णय भएको छ ।

बेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले नगरपालिका छाडा पशु चौपाया व्यवस्थापनका लागि कामकाज अघि बढाईरहेको बताउँदै, सहयोगका लागि अपिल गर्नुभयो । ‘नगरपालिकाबाट चुनेपानीमा राख्नका लागि लगिएका पशु चौपाया पुतली बजारमा रोक्ने काममा आफुमाथि लगाएको दोष निराधार रहेको छ, ‘उनले भनिन, ‘हामीले जनपक्षर््ाीय काम गर्ने हो ।’

बेदकोट नगरका प्रमुख भोजराज बोहराले विगतदेखि बेदकोट नगरपालिकामा छाडिएका पशु चौपाया व्यवस्थापन कार्य अघि बढेको थियो, त्यही अनुरुप निरन्तर व्यवस्थापनको कामकाज अघि बढेको बताए । ‘स्थानीय किसानले नगरपालिका ल्याएका गाईगोरु चुनेपानीका व्यवस्थापन गर्न लैजाने क्रममा केही व्यक्ति समुहबाट अवरोध आएको छ, ‘मेयर बोहराले भने, ‘हामी छाडा पशु चौपाया व्यस्थापन गर्न कटिबद्ध छौँ ।’

६ बर्षको अवधिमा १ करोड २१ लाख बढि रकम खर्च भईरहेको बताउँदै मेयर बोहराले आत्मनिर्भर गराउने हिसाबले बेदकोटको बैतडामा १२ विगाह जमिन लिजमा लिएको बताए । ‘निकट भविष्यमै मल कारखाना खोल्ने योजना सहित हामी अघि बढेका छौँ, ‘उनले भने, ‘छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेका छौँ ।’

नगरपालिका पशु चौपाया हुलेर आन्दोलन गर्ने, अनि व्यवस्थापन गर्नका लागि चुनेपानीमा लैजादा अवरोध गर्ने समुहले एक लाख रुपैया चन्दा मागेको बताउदै मेयर बोहराले चन्दा नदिएपछि यो वितण्डा भईरहेको बताए । ‘हामीले नगरपालिका हुलेका गाईगोरु व्यवस्थापनका लागि चुनेपानी लगेका थियौँ, ‘मेयर बोहराले भने, ‘विच बाटोमा ट्रक रोकेर एक लाख मागियो, हामीले दिने कुरै भएन, दिन सकेनौँ ।’

मेयर बोहराले अब बेदकोट नगरका कुनैपनि वडामा छाडा पशु चौपायाको समस्या नहुने समेत विश्वास दिलाएका छन । पत्रकार सम्मेलनमा बेदकोट नगरका प्रमुख, भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी वडाध्यक्ष महेशराज जोशी, नरेश सिह रतन विष्ट, कार्यपालिका सदस्य पवन नेपाली प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी सहित नेपाली काँग्रेसका नगरउपसभापति भोजराज भट्ट, नेकपा एमाले नगर अध्यक्ष हरिस भाट, नेकपा माओवादी नगर अध्यक्ष लाल परियार सहितका राजनीतिक दलका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस