कञ्चनपुर । विपद् व्यवस्थापनका लागि कञ्चनपुरका स्थानीय सरकार प्रतिबद्ध देखिएका छन । जिल्लाका स्थानीय तहले कुनैबेला आईपर्ने विपद् व्यवस्थापन गर्ने र विपद्बाट बाँच्नका लागि पुर्व तयारी गर्न प्रतिबद्ध हुने बताएका हुन । बुधबार पुनर्वास नगरपालिकाले आयोजना गरेको दोस्रो कञ्चनपुर सम्मेलनमा जिल्लाका स्थानीय सरकार प्रमुख, उप प्रमुखले आ–आफ्नो पालिकामा विपद् जोखिम न्यूनिकरणका लागि पुर्व तयारीदेखिका आवश्यक सबै योजना अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन । एनएनएसडब्लूए सुदृढ परियोजनाका विपद् जोखिम न्यूनिकरण अधिकृत प्रभुनिधी पन्तले सुरक्षित र दिगो विकासका लागि स्थानीय सरकारका प्रतिनिधीले विपद् जोखिम न्यूनिकरणका लागि प्रतिबद्धता जाहेर गरेको बताए । भविष्यमा आईपर्ने विपदको एकल तथा संयुक्त रुपमा समस्या समाधान गर्ने गरि सम्मेलन आयोजना गरिएको छ । एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले जुनसुकै बेलामा पनि विपद् आउने र त्यसबाट ठुलो जनजनको क्षति हुने भएकाले समयमै न्यूनिकरणनका लागि पुर्व तयारी आवश्यक रहेको औल्याए । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले विपद् व्यवस्थापनका लागि स्थानीय सरकार जागरुक हुनुपर्नेमा जोडदिए । स्थानीय सरकारलाई आफ्नो क्षेत्रवरीपरीको सबै बस्तुस्थिति बारे थाहा हुने भएकाले विपद् रोकथामका लागि आवश्यक सबै कामकाज अघि बढाउनु सुझाव दिए । कार्यक्रममा विभिन्न विज्ञबाट कार्यपत्र प्रस्तुत गरिएका थिए । बम्शी आचार्यले स्थानीय सरकारको सन्दर्भमा विपद् जोखिम न्यूनिकरण तथा वित्त व्यवस्थापनको सम्भावना र चुनौती, दिशेन गुरुङ्ग, रघुनाथ भट्ट, निर्मला चौधरी, सजय देवकोटाले प्रकोप पुर्व तयारी र उत्थानशिलताका लागि पुर्वानुमानमा आधारित अग्रिम कार्य, प्राडा.जिवराज पोखरेलले नगरपालिका उत्थानशिलताका लागि प्रकृतिमा आधारित समामान, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट सहितले कार्यपत्र एव विपद् जोखिम न्यूनिकरणका लागि शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनबाट १०बुँदे घोषणा पत्र जारी गरिएको छ । जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय, अन्र्तराष्ट्रिय नीति योजना तथा कार्यक्रमहरुलाई स्थानीयकरण र कार्यान्वयन गर्ने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि सबै पालिकाहरुले विपद जोखिम वित्त व्यवस्थापन तथा सञ्चालन कार्यविधि तर्जुमा गर्ने, जलवायुजन्य विपद्को जोखिममा रहेका समुदायको विस्तृत अध्ययन गरी जोखिम न्यूनीकरण गर्ने, विपद् तथा जलवायु संवेदनशिल भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गरी उत्थानशील र दिगो बसोवासलाई प्रवर्धन गर्ने, .विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली तथा प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना , सञ्चालन र स्रोतमा समुदायको पहुँच अभिवृद्धि गर्ने, .सामुदायिक विपद् व्यवस्थापन समितिहरुको क्षमता अभिवृद्धि गरी प्रभावकारी रुपमा परिचालन गर्ने, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी जिल्ला तथा स्थानिय स्तरको क्षमताअभिवृद्धि गर्ने र स्थानीय पाठ्यक्रममा उक्त विषय समावेश गर्ने, स्थानीय विकासका योजनाहरु निर्माण तथा कार्यान्वयनको क्रममा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिने, विपद जोखिम व्यवस्थापन तथा जलवायु अनुकुलनका लागि प्रकृतिमा आधारित समाधानका उपायहरुलाई प्रवद्र्धन गर्ने, कञ्चनपुर जिल्ला स्थित गाउँपालिका तथा नगरपालिकाहरुले यो उत्थानशील कार्यमञ्च मार्फत पारस्परिक समंन्वय र सहकार्य गरी विपद् तथा जलवायु उत्थानशील समाजको निर्माण गर्ने र उत्थाशिल मञ्च मार्फत गरिएका घोषणाको कार्य प्रगति नियमित अनुगमन तथा समिक्षाको लागि जिल्ला समन्वय समिति र जिल्ला विपद् व्यवस्थापन समितिसंग आवश्यक सहकार्य गर्ने गरी घोषणा पत्र जारी गरिएको छ ।

प्रतिक्रिया दिनुस