लघुवित्त वित्तीय संस्थाहरु विरुद्धको संघर्ष समितिको आयोजनामा प्रथम भेला तथा विरोध सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका- १ भुरिगाउँमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो ।

लघुवित्त वित्तीय संस्थाहरुको ज्यादती र आतंकका विरुद्ध गठन गरिएको संघर्ष समितिको संयोजक सिता सुनारको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिट ब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेको प्रमुख अतिथ्यताका साथै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य विपीन रोकाया, जिल्ला सचिव हबिब खाँ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य गंगा न्यौपाने, समाजसेवी कालिका बिष्ट, तारा अधिकारी लगायत विभिन्न राजनीतिक पार्टी र समाजसेवी व्यक्तित्वहरुको अतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा व्यापक छ्लफल र अन्तरक्रिया सहित भेला सानदार रुपमा सम्पन्न भएको कुरा संघर्ष समिति निकट स्रोतले  बताए ।

सो कार्यक्रममा नेता एवं समाजसेवी भुपेन्द्र न्यौपानेले वित्तीय संस्थाहरुको आतंक र ज्यादतीको विरुद्धको संघर्षमा आफ्नो पार्टीको तर्फबाट ऐक्यबद्धता जाहेर गर्दै उत्पीडित वर्ग एवं समुदायद्वारा चलाइने कुनै पनि न्यायपूर्ण आन्दोलनहरुमा सहयोग र समर्थन रहने विचार व्यक्त गर्नु भएको थियो।

साथै, उहाँले यो समस्याको मुख्य कारण राज्यसत्ता र व्यवस्था हो भन्ने कुराको ठाेकुवा गर्नु भयो । पुरानो सामाजिक प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाका दलालहरुले नोकरशाही एवं दलाल पुँजी परिचालन गरी पुराना सुदखोरहरुको रुपमा लघुवित्त वित्तीय संस्थाहरुको माध्यमबाट गरिब किसानहरुको शाेषण गरिरहेको जिकिर गर्नु भयो ।

समाजका विद्यमान समस्या देखि सामाजिक व्यवस्था परिवर्तनसमेत जनताको सचेत विद्रोह र न्यायपूर्ण आन्दोलनहरुको बलमा भएको ऐतिहासिक तथ्यबारे चर्चा गर्दै आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन समेत आग्रह गर्नु भयो ।

अन्य वक्ताहरुले पनि लघुवित्त वित्तीय संस्थाहरुको आतंक र ज्यादती रोक्न चेतावनी समेत दिएका थिए । यही स्थिति यथावत रहे संघर्षमा उत्रने समेत विचार प्रकट गरेका थिए । त्यस कार्यक्रमको संचालन भने मनु थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुस