कञ्चनपुरको बेलौरीमा सिमा आसपास केहि दिन देखि  चोरी-डकैती तथा लुटपाट गर्ने भारतीय गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पछिल्लो केही समययता रातिको समयमा नेपाल प्रवेश गरेर चोरी, डकैती र लुटपाटमा सक्रिय गिरोहमध्ये तीन भारतीयलाई शुक्रबार राति र शनिबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतको लखिमपुर खिरी जिल्लाको मिलौलीका ३२ वर्षीय राजु इन्द्रिसी, सोही ठाउँ बस्ने २७ वर्षीय मुजिवा बञ्जारा र पलिया हसिम राना गाउँ बस्ने ४२ वर्षीय यसप अलीलाई प्रहरीले पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका १, फटियामा गएराति पनि लुटपाट गर्न प्रवेश गरेको उक्त गिरोहलाई स्थानीय बासिन्दा र सुरक्षाकर्मीले घेराबन्दीमा पारेका थिए । उखुबारीभित्र लुकेर बसेका लुटेराहरूलाई एकथान पेस्तोल र त्यसमा प्रयोग हुने सातथान गोलीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । उनीहरूलाई आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने बताइएको छ ।

यसअघि पुस ६ गतेको मध्यरातमा बेलौरी नगरपालिका १, फटियास्थित राजेन्द्र भट्टको घरमा पनि लुटपाट भएको थियो । भट्टको घरबाट तीन लाख बीस हजार रुपैयाँ नगदसहित सुनको औँठी, कानको बाली, नाकको नथिया गरी करिब दुई तोलाबराबर सुनका गरगहना चोरी भएको थियो ।

सोही समयमा बेलौरी नगरपालिका ४, बुटाबारी बस्ने ६५ वर्षीय दयाराम सुनारको घरबाट अज्ञात व्यक्तिले २२ हजार रुपैयाँ मूल्य पर्ने सिँचाइ मोटर र फलामको पाइप चोरी गरेको थियो ।

त्यस्तै पुस ११ गते राति बेलौरी नगरपालिका २, बैजुडाँडाका दुई घरमा पनि उक्त समूहले लुटपाट गरेको थियो । मध्यरातमा हतियारसहित गाउँ पसेको लुटेराको समूहले बैजुडाँडाका प्रेमनाथ चौधरी र मनोज चौधरीको घरबाट डेढ लाख रुपैयाँ, सुनका गरगहना, मोबाइलसहितका सामग्री लुटपाट गरेको पीडित परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । लुटेराहरूले लगेको मोबाइल सेट भने नजिकैको उखुबारीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुस