कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा शितभण्डार गृह (कोल्ड स्टोर) निर्माण हुने भएको छ । शितभण्डार निर्माणका लागि नगरपालिकाले यस आर्थिक बर्षको नगरसभाबाट २५ लाख रकम विनियोजन गरेको छ ।

कलुवापुरमा रहेको बसन्त सामुदायिक वनको जग्गा चलनभोगका लागि ईआईए गर्नका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ । वडा नम्बर ११ मा आइतवार बसेको सर्वपक्षीय बैठकमा सामुदायिक वनका उपभोक्ताले ईआईए गर्नका लागि सहमति जनाएका छन् ।

वडाध्यक्ष शेरबहादुर साउँदले सर्वपक्षीय बैठकले शितभण्डार गृह निर्माणका लागि ईआईए गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको बताए । ईआईएको कार्य भएपछि वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र प्राविधिक टोलीले शितभण्डार गृह निर्माणका लागि स्थान छनौट गर्ने उनले बताए । छलफल कार्यक्रममा बोल्दै सामुदायिक वनका अध्यक्ष रनसिंह सुनारले वनलाई हानी नोक्सानी नहुने गरी शितभण्डार निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने बताए । ‘वन संरक्षणकर्मी भएकाले म आफैंले सामुदायिक वनमा जग्गा उपलब्ध गराउन सक्दैन, गराउँछु पनि भन्न सक्दिनँ,’ उनले भने, ‘उपभोक्ताले सहमति दिएका छन्, त्यसका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्छ ।’

सामुदायिक वनका पूर्व अध्यक्ष धनबहादुर बमले लठ्ठी पनि नटुटोस् र सर्प पनि मरोस् भन्ने भनाइझै हानी–नोक्सानी नहुने गरी उपयुक्त ठाउँमा शितभण्डार निर्माण गरिनुपर्ने बताए । नेकपा एमालेका नगर अध्यक्र्ष  भक्तराज जोशीले सबैले एकबद्ध भएर वडामा आएको योजनालाई कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताए । समाजसेवी गोपाल नाथले योजना निर्माणका लागि सबै क्षेत्रबाट सकारात्मक जवाफ आएकाले कार्यान्वयन हुनेमा ढुक्क रहेको बताए । नगरपालिका क्षेत्रमा शितभण्डार गृह नहुँदा व्यावसायिक खेतीमा संलग्न किसानले कृषि उपज, तरकारी, फलफूल लगायत बाह्य क्षेत्रमा लगेर भण्डारण गर्नुपर्ने अवस्था रहेको छ ।

नगर प्रमुख रणबहादुर महराले शितभण्डारका लागि केही रकम नगरपालिकाबाट विनियोजन गरिएको  भए पनि त्यसले योजना सम्पन्न गर्न नपुग्ने भएकाले प्रदेश र संघीय सरकारलाई गुहार्ने बताए । यसै गरी कार्यक्रममा नेपाली काग्रेसका वडा सभापति तथा कलुवापुर खानेपानी उपभोक्ता समितिका सचिव टेक बहादुर भण्डारी,निवर्तमान वडा सदस्यद्वय शिवराज भट्ट, जय बहादुर विष्ट र स्थानिय समाजसेवि गोपाल नाथ लगाएतले सबैलाइ पायक पर्ने उपयुक्त ठाउँमा शितभण्डार निर्माण गर्न प्रतिवद्धता व्यक्त
गरेका छन् ।

प्रतिक्रिया दिनुस