सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेशप्रमुख देवराज जोशीले सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् । प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएकाले प्रदेशप्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेका हुन् ।

उनले २७ पुसको साँझ ५ बजेसम्मको समय निर्धारण गरी सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका छन् । अब दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले मुख्यमन्त्री नियुक्त गर्नका लागि २७ पुसको साँझ ५ बजेसम्म प्रदेशप्रमुखसमक्ष निवेदन दिनुपर्नेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । यहाँ कांग्रेससँग १९, माओवादीसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग सात, एकीकृत समाजवादीसँग चार तथा राप्रपा र स्वतन्त्र एक–एक सांसद छन् । केन्द्रमा माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउन नागरिक उन्मुक्तिले समर्थन जनाए पनि सरकारमा गइसकेको छैन ।

आफ्ना नेता रेशम चौधरीको रिहाइ तथा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको माग उसले राख्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन नागरिक उन्मुक्ति निर्णायक शक्ति देखिएको छ । उन्मुक्ति र कांग्रेसले समेत थप एक सिट आर्जन गरी सरकार बनाउन सक्ने सम्भावना रहेकाले यहाँ कसले सरकार बनाउला भन्ने यकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुस