बेलडाँडी । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि , सडक सञ्जाल , शीत भण्डारण , स्वच्छ खानेपानी र पर्यटन बिकास गर्ने लगायतका गौरवका प्रस्ताव पारित गर्दै बेलडाँडी गाउँपालिकाको १२ औं हिउँदे अधिवेशन सम्पन्न भएको छ ।

तराईको सुगम जिल्ला कञ्चनपुरको बेलडाँडी बिकासका हिसाबले पछाडी परे पनि यस पटक गौरवका योजना पारित गर्दै १२ औं हिउँदे अधिवेशन समापन गरिए पछि स्थानियमा उत्साह थपिएको छ ।

बिहीवार सम्पन्न गरिएको १२ औं अधिवेशन बाट बेलडाँडीमा शीत गृह (कोल्ड स्टोर) निर्माण गर्ने , पालिकाका विभिन्न वडाहरुमा किसानका खेतबारीमा बनेको सिमसार डुबानको समस्या समाधान गर्ने , रिङ रोड , खेलमैदान, कालिकिच ताललाइ पर्यटकीय क्षेत्र बिकास र खानेपानीको बृहत् योजना लगायतका निर्णय १२ औं अधिवेशनबाट पारीत गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख हरिश्चन्द्र रानाले बताए ।

बेलडाँडीको प्रमुख आयश्रोत कृषि भएकाले पालिकाले कृषि क्षेत्रको बिकासलाई प्राथमिकताका साथ अघि बढाएको गाउँ पालिका प्रमुख रानाले बताए । उनले भने -बेलडाँडीका दर्जनौं किसानका उर्भर जमिन डुबानका कारण सिमसार बन्न पुग्दा कृषकको आर्थिक स्तर घट्नुका साथै खाद्यान्न उत्पादनमा ह्रास आएको वर्तमान अबस्थालाई सुधारको दिशामा लैजान डुबान क्षेत्रको पानी निकास गर्न आबश्यक देखिएकाले यो समस्यालाई प्राथमिकतामा राखिएको हो ।

 

किसानहरुले उत्पादन गरेको तरकारीलाई स्थानिय स्तरमै सुरक्षित बनाइ कृषकहरुको उत्पादकत्व वृद्धिमा प्रोत्साहन दिन कोल्ड स्टोर स्थापनाका लागि बेलडाँडी गाउँ पालिकामा हामीले महत्वका साथ योजना अघि बढाएको प्रमुख रानाले बताए ।

कृषि उत्पादनलाई सहज रुपमा बजार पहुँच र यातायात सेवा गुणस्तरीय बनाउन रिङ रोडको योजना ल्याइएको उनले बताए । जनतालाई स्वच्छ खानेपानी उपलब्ध बनाउन खानेपानीको बृहत् योजना र खेलकुद क्षेत्रको बिकासका लागि स्तरीय खेल मैदानको ब्यबस्था गर्ने र कालिकिच ताललाई पर्यटकीय क्षेत्र बिकास गर्ने योजना बेलडाँडी गाउँपालिकाले पारित गरेको पालिका प्रमुख रानाले बताए ।

प्रतिक्रिया दिनुस