शुक्लाफाँटा नगरपालिकामा चेतनामूलक होर्डिङ बोर्ड राख्ने अभियान सञ्चालन गरिएको छ ।‌ शुक्लाफाँटा नगरपालिकाको सहयोगमा ईलाका प्रहरी कार्यालय झलारीले लागूऔषध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक होर्डिङ बोर्ड अभियान सञ्चालन गरेको हो ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “लागूऔषध विरुद्धको महाअभियान” सञ्चालन गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

मंगलबार शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० को प्रतिक्षालय नजिक र ईप्रका जाने बाटोमा लागूऔषध न्यूनीकरण अंकित होर्डिङ बोर्ड राखिएको प्रहरी निरीक्षक सिंहले बताए ।

‘बोर्डमा लागूऔषधमा संलग्न रहेमा सजायका कुराहरु राखेका छौ,’उनले भने, ‘यसले सडक प्रयोग गर्नेहरुलाई सचेत गराउने र लागूऔषध न्यूनिकरणमा सहयोग पुर्‍याउने अपेक्षा लिएका छौँ ।’

लागूऔषध न्यूनिकरणका लागी जनचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेका बताउँदै प्रहरी निरीक्षक सिंहले भने, ‘अभियानलाई सफल बनाउन सबैले आआफ्नो तर्फबाट सहयोग गर्नुपर्छ ।’

पछिल्लो समय शुक्लाफाँटा नगरपालिकामा लागूऔषधका घटनाहरु बढेको भन्दै त्यसको न्यूनिकरणका लागि सडकहरुमा जनचेतनामूलक होर्डिङ बोर्ड राखिएको उनको भनाई छ । उनका अनुसार शुक्लाफाँटाका विभिन्न स्थानमा गरी सात वटा होर्डिङ बोर्ड राखिने छन् । कृष्णपुरका पनि विभिन्न ठाउँहरुमा ६ वटा होर्डिङ बोर्ड राखिने प्रहरी निरीक्षक सिंहले बताए ।

नगर प्रमुख रण बहादुर महराले शुक्लाफाँटामा लागूऔषधको विगविगी रहेको बताउँदै यसको न्यूनीकरणका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिए ।

‘शुक्लाफाँटामा लागूऔषधको विगविगी छ,यसतर्फ हाम्रो ध्यान गएको छ,नगर प्रमुख महराले भने, लागूऔषधको न्यूनीकरणका लागि हामी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छौँ’ ।

पछिल्लो समय युवापुस्ता लागूऔषधको लतमा फस्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै लागुऔषधबाट छुटकरा दिलाउन एवं युवा पुस्तालाई  सजग गराउन शुक्लाफाँटा नगरपालिका र ईलाका प्रहरी कार्यालय झलारीले समुदाय-साझेदारी कार्यक्रम अन्तर्गत गाँउ,टोल,वडा, नगर र विभिन्न विद्यालयहरुमा विविध सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

लागूऔषध सम्बन्धी चेतनामूलक होर्डिङ बोर्ड राख्ने कार्यक्रममा नगर प्रमुख महरा सहित नगर उपप्रमुख कल्पना जोशी पन्त,प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्ट,वडा नम्बर १० का वडाध्यक्ष लाल बहादुर ऐर,शुक्लाफाँटा उद्योग वाणिज्य संघका अध्यक्ष धिरेन्द्र साउँद,ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंह,पत्रकार लगायतको सहभागिता रहेको थियो । सेतीकाली बाट

प्रतिक्रिया दिनुस