महेन्द्रनगर ,बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले बढ्दो महंगी , भ्रष्टाचार ,कालोबजारी, चर्को ब्याजदर , लघुवित्त, बैंक वित्तीय संस्थाको ज्याजति विरुद्ध विरोध प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार सोमबार जिल्लाको महेन्द्रनगर बजार नारा जुलुस सहित बृहत प्रदर्शन गरेको हो ।

बैंक वित्तीय संस्थाहरुले चर्को ब्याजदर लगाएर ठूलो मात्रामा जनता माथि ऋण थुपार्ने काम भएको अर्का वक्ता नेकपाका केंद्रीय सदस्य तथा कञ्चनपुर जिल्ला विराट सी ले बताए । साथै उक्त ज्यादती विरुद्ध हरेक नेपालीले आन्दोलनमा उतर्नु पर्ने समेत उहाँको भनाइ थियो । अनुत्पादक क्षेत्रमा जनतालाई लगानी लगाएर विभिन्न बैंक लघुवित्तहरुका केही निहित मालिकहरूले आफ्नो कमाई खाने भाँडो बनाएको छ, नेकपा नेता विराटले भने । उनले थप्दै भने , “ सेवाका नाममा वित्तीय संस्थाहरुले गरेको दलाली लाई नरोके यसको विरुद्ध हाम्रो पार्टी सशक्त आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौं ।” जनताको दैनिकी संग जोडिएको महंगी कालोबजारी जस्ता कुरा लाई समयमै नियन्त्रण गर्न सरकारलाई उनले आग्रह गरे ।

उक्त विरोध प्रदर्शन को कोण सभालाई सम्बोधन गर्दै नेकपाका महाकाली ब्युरो इन्चार्ज समर सी ले अहिलेका राजनीतिक दल र पार्टीका नेताहरु सत्ता र कुर्सीको प्रतिस्पर्धामा व्यस्त रहेको बताएका छन । देशमा अवैधानिक तरिकाले बढ्दै गएको महंगी,बैंक लघुवित्त र वित्तीय संस्थाहरुको बढ्दो आतंकका कारण प्रेम प्रसाद आचार्य जस्ता व्यवसायीले आत्मदाह गर्नुपरेको र गाउँघरमा जनताको उठिबास लाग्ने स्थिति सिर्जना भएको छ यसको विरुद्ध नेपाली जनताले ठाउँ ठाउँमा विद्रोहको आवाज उठाइरहेको उनले बताए । पछिल्लो अवस्थामा राष्ट्रियता, जनजीविका , जनतन्त्रका विषयमा कसैले संघर्स गरेको छ भने त्यो आफ्नो पार्टी नेकपाले गरेको उनको दाबी थियो । वर्तमान अवस्थामा देखिएका सबै समस्याको कारण भनेको संसदीय व्यवस्थाको उपज भएको बताउँदै यो समस्याको निकास जनताको व्यवस्था वैज्ञानिक समाजवादले गर्ने उनको भनाइ थियो ।

महेन्द्रनगरको ट्राफिक चोक देखि सुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय, एक नम्बर गल्ली हुँदै मदन चोकमा गएर कोण सभामा परिणत भई कार्यक्रम सम्पन्न भएको थियो ।
विरोध र्यालीमा प्रदर्शनकारीहरुले बढ्दो महंगी नियन्त्रण गर , बैंक वित्तीय संस्थाहरुको आतंक बन्द गर , भ्रष्टाचार नियन्त्रण गर्न , नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुस