कञ्चनपुर फागुन २६। धनगढीमा रहेका केहि निजी अस्पतालमा बेथिति रहेका पाईएको छ।  केहि निजी अस्पताल अबैधानिक रुपमा सञ्चालन गर्ने र ठगी गर्ने गरेका धेरै घटना बाहिरका छन । धनगढी उप-महानगरपालिकामा सञ्चालनमा रहेका माया मेट्रो र निसर्ग ,सिपी अस्पताल कैलाली हस्पिटलले अबैधानिक रुपमा सञ्चालन गरेर चर्को मुल्य लिएर सेवा दिइरहेका छन ।

धनगढी उप–महानगरपालिका क्षेत्रभित्र निजी क्षेत्र तथा ट्रष्ट वा लोककल्याणकारी संस्थाद्वारा अस्पताल सञ्चालन गर्न चाहेमा १५ शैय्या सम्मको सञ्चालन अनुमति उप–महानगरपालिकाले दिन सक्नेछ’ धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐनमा व्यवस्था गरेको छ । तर, धनगढीमा सञ्चालनमा रहेका नीजि अस्पतालले १५ शैय्यामा दर्ता गर्दै पूर्वाधार, सेवासुविधा थप गर्दै अनुमति प्राप्त भन्दा बढी शैय्या राख्ने गरेका छन् ।

कैलालीको धनगढीमा २५ सैय्याका रुपमा सञ्चालनमा रहेको निसर्ग अस्पतालमा विभिन्न सेवा थप गर्दै २५ भन्दा बढी शैय्या राखेर सेवा दिइरहेको छ । २०७५ असार १६ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा २५ सैयाको सेवा थप गरि निसर्ग अस्पताल सञ्चालनमा आएको थियो । सो अस्पतालले पनि अनुमति प्राप्त गर्दा आवश्यक मापदण्ड र पूर्वाधार तयार गरेको थिएन । निसर्ग अस्पतालले पनि सञ्चालनपछि विस्तारै सेवाहरू थप गरिरहेको छ । सो अस्पतालले २०७६ साल असार ११ गते पाठेघर परीक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी सेवा, यहि वर्ष बाल शिशु अस्पताल लगायतका सेवा थप गरेको छ ।

२०७५ साल भदौ १५ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा २५ सैयाको अस्पतालका रुपमा माया मेट्रो अस्पताल सञ्चालनमा आएको थियो । सो अस्पतालले साविकको कैलाली जनस्वास्थ्य कार्यालयबाट सञ्चालन अनुमति लिएको जनाइएको छ । तर, सो अस्पतालले सञ्चालन अनुमति प्राप्त गर्दा पनि आवश्यक पूर्वाधार र मापदण्ड पुरा नगरेको बताइन्छ । अनुमतिपत्रमा माया मेट्रो अस्पतालले आइसियू, एनआइसियू, पिआइसियू, एक्सरे, सिटिस्क्यान, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायतको सेवासुविधा प्रदान गर्ने उल्लेख थियो । माया मेट्रो अस्पतालले आइसियू, एनआइसियू, सिटि स्क्यान लगायतका विभिन्न सेवा थप गर्दै शैय्या थप गरेको छ । तर, सो अस्पताल स्थानीय तहमा २५ शैय्याका रुपमा दर्ता रहेको छ ।

धनगढी उपमहानगरपालिकाको आर्थिक ऐनले नयाँ अस्पताल सञ्चालन दर्ता, नविकरण र सेवा शूल्कहरू तोकिएको छ । सो ऐन अनुसार अस्पताल तथा नर्सिङ होमले स्थापनाका लागि प्रति सैया चार हजार पाँच सय रुपैया तिर्नुपर्ने व्यवस्था गरेको छ ।

निसर्ग, माया मेट्रोसंगै धनगढीमा रहेको कैलाली अस्पताल, सिपी अस्पताल, केजी लगायतले पनि दर्ता शैय्याभन्दा बढी शैय्या राखेर सेवा प्रदान गरिरहेका छन् । धनगढी उपमहानगरपालिकामा सञ्चालनमा रहेका नीजि अस्पतालहरुले दर्ता भन्दा बढी शैय्या आफुखुशी थप गर्दै गएपनि नियमन निकायले ध्यान दिन सकेको छैन् ।

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र अवस्थीले अस्पतालको अनुगमन, दर्ता नविकरण लगायतका गतिविधि अहिले नभएको बताए । उनले भने –‘बजार अनुगमनका संयोजकले बजारसंगै धनगढीमा सञ्चालनमा रहेका फार्मेसीहरुको अनुगमन गरिरहेका छन् । अस्पताल अनुगमन भएको छैन् । सेवासुविधा के कसरी प्रदान गरिरहेका छन बारेमा अनुगमन भएको छैन् ।’ उनले यसले गर्दा अस्पताल, क्लिनिक लगायतका स्वास्थ्य संस्थाबाट आउनुपर्ने राजश्व उपमहानगरपालिकाले असुल गर्न नसकेको बताए ।

धनगढी उपमहानगरपालिका बजार अनुगमनका संयोजक नारायणप्रसाद शर्माले बजारसंगै धनगढीमा रहेका अस्पतालको अनुगमनको जिम्मेवारी आफनो मातहात रहेको बताए । उनले भने –‘अस्पताल पनि पर्छ तर, हामीले अहिले फार्मेसीकोमात्र अनुगमन गरिरहेका छौं ।’

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले ‘तीन तहको सरकार सञ्चालनमा आएपछि निजि अस्पताल व्यवस्थापनमा कसैको ध्यान जान नसकेको’ बताए ।

स्वास्थ्य कार्यालय प्रमुख धामीले स्वास्थ्य कार्यालयको अधिकार क्षेत्रभित्र निजि अस्पताल नरहेको जानकारी दिए । उनले भने– ‘अहिलेको संरचनामा स्वास्थ्य कार्यालयको काम भनेको मन्त्रालयले बनाएको कार्यक्रमको कार्यान्वयन गरिदिने हो । त्यो भन्दा हामीसंग अरु अधिकार केही छैन ।’ उनले स्थानीय तहमा सञ्चालनमा रहेका स्वास्थ्य सेवा संस्थालाई स्थानीय तहलेनै निगरानी गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुस