बेदकोट,
बेदकोट नगरपालिकामा केही दिनअघि नगर प्रवक्ता चित्रदेव भट्टले मोटरसाइकल दुरुपयोग गरी बैतडी पुगेको घटना सार्वजनिक भयो । त्यसलाई सही देखाउन मेयर भोजराज बोहरा लगायतले कीर्ते कार्यहरू समेत गरेको बाहिरियो ।

त्यो घटना सेलाउन नपाउँदै बेदकोट नगरपालिकामा फेरि अर्काे काण्ड बाहिरिएको छ । आज शनिवार बेदकोट नगरपालिकाका कर्मचारीहरू सरकारी मोटरसाइकलसहित पिकनिक खान रौटेला पुगेका छन् ।

रौटेलामा सरकारी नम्बर प्लेटमा ५३६ नम्बरको स्कूटर र म१ब १२० नम्बरको मोटरसाइकल देखिएका छन् । रौटेलामा भेटिएका केही कर्मचारीहरूले नाम नबताए पनि आफूहरू पिकनिक खान आएको बताएका छन् ।

नगरपालिकाका प्रवक्ता चित्रदेव भट्टले मोटरसाइकल दुरुपयोग भएकोबारे आफूलाई थाहा नपाएको बताए । बिदाको दिन सरकारी मोटरसाइकल र स्कूटर कुन प्रयोजनका लागि रौटेका पुगे भन्नेबारे पनि उनले स्पष्ट जवाफ दिन सकेनन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले आफूले मोटरसाइकलको कुनै पनि पास नदिएको बताए । सार्वजनिक बिदा र शनिवारको दिन सरकारी सवारीसाधन चलाउन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुस