बेलडाँडी । बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथले फर्जी कागज बनाएर बैंकबाट ऋण लिएको विषयमा नेकपा एमाले बेलडाँडी गाउँ कमिटीको समेत गम्भीर ध्यानाकर्षण भएको छ ।

 

गाउँ कमिटीले विभिन्न सञ्चारमाध्यमहरूमा आएका खबरप्रति नेकपा (एमाले) बेलडाँडी गाउँ कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सनिवार गाउँ कमिटीले एक विज्ञप्ति जारी गर्दै पक्की घर नै नभएको कित्तामा घर भएको देखाई बैंकबाट लाखौ ऋण लिएको र छोटो अवधिमै लाखौ रुपैयाँ ऋण एकमुष्ट चुक्ता गरेको भनेर आएका समाचारले उपाध्यक्ष नाथमाथि गम्भीर शंका उब्जाएको कुरा उल्लेख गरिएको छ ।

 

जनताको सेवा गर्नका लागि निर्वाचित गराइएका जनप्रतिनिधिबाट फर्जी गतिविधि हुनु र स्पष्ट आर्थिक स्रोत विना नै लाखौं ऋण चुक्ता गरिनु शंकास्पद छ । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिनु र हालका वडाध्यक्षले घर नै नरहेको प्रमाणित गरेको भनेर समाचारमा आउनुले फर्जी कार्य संगठित मिलेमतोमा भएको अनुमान लगाउन सकिन्छ ।

 

जनप्रतिनिधि, गाउँपालिका र बैंकसम्मको मिलोमतोमा भएको यस्तो कार्यमा भ्रष्टाचार हुनसक्ने र आर्थिक विचलनको शंका लागेकाले घटनाबारे स्पष्ट पार्न गाउँपालिकासँग माग समेत गरेका छन् ।

 

फर्जी कागज बनाएर बैंकबाट ऋण लिएको विषयमा आवश्यक छानविन गरी दोषीमाथि कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । गाउँपालिका उपाध्यक्ष शान्ती नाथ जनप्रतिनिधि समेत भएकाले जनमतको अपमान हुने गरी सतहमा देखिएको प्रकरणले नैतिकताको प्रश्न उब्जाएको छ ।

 

कागज फर्जी वनाएर लाखौं ऋण लिएको जस्तो गम्भीर र अनैतिक विवादमा मुछिएकी उपाध्यक्ष नाथले भविष्यमा पदको दुरुपयोग गर्दै गाउँपालिकालाई नै हानि पुऱ्याउन सक्नेतर्फ सचेत रहन नेकपा एमाले बेलडाँडी गाउँकमिटिले सबै गाउँवासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुस