कृष्ण नेपाली

भीमदत्तनगर – कञ्चनपुरको महिला तथा बृद्ध सेवा केन्द्रद्वारा अपाङ्ग बालबालिकालाई छात्रवृत्ति वितरण गरेको छ । सुस्मा ओमाताको आर्थिक सहयोगमा महिला तथा बृद्ध सेवा केन्द्रले छात्रवृत्ति वितरण गरेको हो ।

अपाङ्ग अतिविपन्न विद्यार्थीको पढाईलाई मध्यनजर गर्दै कञ्चनपुरका दोधाराचाँदनी नगरपालिकाको शारदा सरस्वति माध्यमिक विद्यालयका पुनम सार्की, श्री लक्ष्मी माध्यमिक विद्यालयका खुसी थापामगर, श्री गणेश आधारभूत विद्यालयका रवि मगर, श्री जनज्योति माध्यमिक विद्यालयका रोशन खडका, भीमदत्त नगरपालिकाको श्री सत्यवादी माध्यमिक विद्यालयका मोछिहत सिंह साउद रोशन कोली, नवीन भाट र बेबी डंगौरा, वेदकोट नगरपालिकाको श्री सरस्वति माध्यमिक विद्यालयका सुजाता राना, एलिसा रानालाई छात्रवृत्ति वितरण गरेको महिला तथा बृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा देवी चन्दले बताए ।

प्रति विद्यार्थी १०हजारका दरले छात्रवृत्ति प्रदान गरेका हुन । छात्रवृति वितरणमा भीमदत्त नगरपालिका वडा नं. ०५ का वडा अध्यक्ष पदम अवस्थी तथा आदिवासी जनजाति महासंघ दोधाराचाँदनीका अध्यक्ष डम्बर गुरुङको रोहबरमा छात्रवृत्ति वितरण गरिएको हो । सुस्त मनस्थिति, अपाङ्ग, अति विपन्न, बालबालिकाहरुले बर्षेनी सो छात्रवृत्ति नियमित रुपमा वितरण गरिने अध्यक्ष चन्दले बताईन् । अध्यक्ष चन्दले भने विद्यार्थीले आफ्नो पूर्ण अध्ययन अवधीसम्म छात्रवृत्ति नियमित रुपले पाउने योजना छ ।

छात्रवृतिमा छनौट भएका बालबालिका भाग्यमानी हुन भन्दै उनीहरुको भबिष्य निर्माणमा बृद्ध सेवा केन्द्रले सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अपाङ्ग विद्यार्थीहरु छात्रवृतिमा पाएपछि हर्षित भएका हुन । छात्रवृतिको सहयोगले विद्यार्थीमा थप विद्या आर्जन गर्न हौसला दिने भएकाले विद्यालयका प्रधानाध्यापकले आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गरेको बताए ।

प्रतिक्रिया दिनुस