कृष्ण नेपाली

जातिय भेदभाव र छुवाछुत रहित समतामुलक सभ्य र समुन्नत राष्ट्र निर्माण गरौं भन्ने मुल नाराका साथ कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको लालझाडी गाउँपालिकाले १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाएको छ । जातिय क्षेत्रमा अझैपनि दलित, आदिवासी जनजातिले स्वतन्त्रता नपाएको र छुवाछुत कायमै रहेकाले उन्मुलन गर्न आईतबार एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।

नेपालको संविधान २०७२ ले जातिय व्यवस्था र छुवाछुत विभेद सम्बन्धी कानुन बनेपनि वास्तविक रुपले ग्रामिण तथा शहरी भेगका दलित समुदायले अझैपनि समस्या भोग्नु परेको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरा सार्कीले बताए । सुदूरपश्चिम प्रदेश सभा सदस्य सार्कीले जातिय व्यवस्था र छुवाछुत विभेद सम्बन्धी कानुन बनेपनि कागजमा रहेको व्यवहारमा लागु हुनुपर्ने अनुरोध गरे ।

दलितको हक अधिकार सम्बन्धी नेपालको संविधान २०७२ ले दिएको हक अधिकार र विभेद सम्बन्धी प्रतिवेदन प्रस्तुत सुदूरपश्चिम प्रदेश कानून अधिकृत दान बहादुर सुनारले प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सभापति लालझाडी गाउँपालिकाका उप प्रमुख सपना चौधरी रानाले जातीय तथा छुवाछुत विभेद उन्मुलन सम्बन्धी विभिन्न कार्यक्रमहरु ल्याएको र आगामी दिनमा थप योजना यस पालिकामा ल्याउने बताए ।

कार्यक्रममा विभिन्न दलित संघ÷संगठनका प्रतिनिधी, राजनैतिकदल, जनप्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस