कञ्चनपुर । कञ्चनपुरको पश्चिम नाका गड्डाचौकीमा सीमावर्ती सडक कालोपत्रे गरिएको छ । भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा सीमावर्ती सडक कालोपत्रे गरिएको हो । नेपाल भारत जोड्ने कञ्चनपुरको गड्डाचौकी(नेपाल)तर्फको सडक कालोपत्रे गरिएको छ ।

७नम्बर सीमा पिलरदेखि पुर्वतिर नेपाल तर्फ कालोपत्रे सडक निर्माण गरिएको भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले बताए । वडाध्यक्ष थापाले भीनपा ११कै माग अनुरुप सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट दिएको बताए ।

भारतीय पक्षले पश्चिमदेखि पुर्वतिर ७नम्बर सीमा पिलरसम्मै यस अघि कालोपत्रे गरिसकेका थिए, ‘उनले भने, ‘अहिले हामी नेपाल पक्षले पनि सीमा पिलरदेखि पुर्व ६ लेन सडकसम्मै कालोपत्रे गरेका छौँ ।’ सीमा पिलरदेखि ६ लेन सडकसम्म झण्डै ३ सय मिटर सडक कालोपत्रे गरिएको वडाध्यक्ष थापाले बताए ।

भारतीय पक्षले आफ्नो तर्फ धमाधम सडक निर्माण गर्ने तर, नेपाल तर्फ कालोपत्रे मात्रै नभई समान्य सडक मर्मत गर्दा समेत अवरोध गर्दै आएको थियो । गत बर्ष भीमदत्त नगरपालिका ११ नम्बर वडाले ७नम्बर पिलर उत्तरतर्फ रहेको कच्ची सडकमा परेका खाल्टाखुल्टीमा ग्राभिल हाल्दा भारतीय पक्षबाट अवरोध गरिएको थियो । भारतीय पक्षले गत बर्ष सीमा पिलरदेखि पश्चिम सडक कालोपत्रे गरेसंगै नेपाली पक्षले यस बर्ष पिलरदेखि पुर्व सडक कालोपत्रे गरेको हो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत चालु आर्थिक बर्षमा खगेन्द्र एण्ड सिह बिल्डर प्रालिले २३लाखमा उक्त ३सय मिटर सडक कालोपत्रेको ठेक्का पाएको थियो ।

सडक कालोपत्रे भएसंगै नेपाल भारत दुवै देशका यात्रुहरुलाई सहज भएको छ । यस अघि नेपाल तर्फ कच्ची सडक हुँदा यात्रुहरुलाई सास्ती खेप्नु परेको थियो । सडक कालोपत्रेसंगै यात्रुहरुलाई सहज भएको छ, भने उनीहरु खुसी भएका छन ।

प्रतिक्रिया दिनुस