प्रदिप राना
कञ्चनपुर । चुरे भएर बग्ने चौधर नदी सहितका नदीखोला नालामा आएको वाढीले बेदकोट नगरको चतहरी र नयाँ गाँउमा क्षतविच्छेद बनाएको छ । चौधर, राधा नदी, पत्थरिया, कनकट्टी, कालिखोला, पेलिताल लगायतका नदीखोला नालामा आएको वाढीले नगरको चतहरी र नयाँ गाँउमा क्षतविच्छेद बनाएको हो ।
चौधर नदीमा आएको वाढीले दुई गाँउ जोड्ने झोलुङ्गेपुल सहित विद्युतका पोल, स्थानीयका खेतबारी, घर सरचनामा क्षति पु¥याएको छ । बेदकोट नगरपालिका १० नयाँगाँउका राजु कडारोले चौधर नदीले आफ्नो सहित दर्जनौँ स्थानीयका घरडुवानदेखि खेतबारी कटानी गरिदिएको बताए ।
‘राती मध्यरातमा वाढी आयो, मैले मेरा घरमा सहित छिमेकीलाई उद्दार गरेर उचो ठाँउमा लगे, ‘उनले भने, ‘वाढीले विद्युतमा समेत ठुलो क्षति गरेपछि सातदिनदेखि गाँउमा विद्युत बिहिन भएको छ ।’ २२ असारमा गएको विद्युत २८ असारसम्म पुर्ननिर्माण नभएको उनले बताए ।
‘वाढीले एकातिर हामीलाई विस्थापित गरिदियो, विद्युतका पोलमा क्षति गरेर दुई गाँउ अन्धकारमा बस्नु परेको छ, ‘उनले भने, ‘बेदकोटको चतहरी र नयाँ गाँउका स्थानीय अन्धकारमा बस्नु परेको छ ।’ सातदिनदेखि विद्युत पुर्ननिर्माण नहुँदा झण्डै १२ सयघरधुरी अन्धकारमा बस्नु परेको उनको दुखेसो छ । भिराल टोलमा अझैपनि दलदल हुँदा विद्युत विस्तारमा समस्या भएको उनको भनाई छ ।
स्थानीय कडारोका अनुसार आफ्नो सहित जग बहादुर चदारा, जनक कठायत, राज ब. कठायत, गोपाल सुनार लगायतका दर्जनौँ स्थानीयका घर जमिनमा कटानी, पटानी गरेर नोक्सानी पु¥याएको बताए । चतहरीका स्थानीय डम्बर सार्कीले चौधर नदीको कटानीले दुई गाँउ (चतहरी–नयाँ गाँउ) जोड्ने झोलुङ्गे पुल भत्किएको बताए । ‘पुलको पुर्वतर्फ चतहरी गाँउको सिँढी भत्काईदिएको छ, ‘उनले भने, ‘सिँढीसंगै वरपरको जमिन कटान तथा पटान गरिदिएको छ ।’ पुल भत्किएपछि विद्यार्थी सहित स्थानीय सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ ।
अर्का स्थानीय गोपाल सुनारले बर्षभरी छाक छार्ने अन्नबाली बगाएरपछि समस्या भएको बताए । ‘घरमा भएको अन्नबाली भिजेर नष्ट भयो, खेतको धान पटानीमा परिणत भयो, ‘उनले भने, ‘अब हामीले बर्षभरी खाने के ?’ आफुहरुमाथि महाविपति निम्तिदा समेत वडा सरकारले मात्रै पीडा बुझेको बताए ।
बेदकोट नगरपालिका १०का वडाध्यक्ष रतन सिह विष्टले चौधर,राधा सहितका नदीखोला नालामा आएको वाढीले १५घर पूर्ण क्षति भएको, दुईसय घर डुवानमा परेको बताए । ‘बेदकोट नगरपालिका १०भरी झण्डै २५विगाह जमिन कटानी तथा पटानी भएको छ ।’ दुई गाँउ जोड्ने झोलुङ्गेपुल सहित, कालीखोलाको कल्र्भट, बैजनाथ मन्दिर नजिक कल्भट भत्किएर सडक अबरुद्ध भएको बताए । नयाँगाँउ र चतहरी गाँउमा १३ विद्युतका पोलमा विद्युत सेवा समेत अरुबद्ध भएको बताए । ‘हाम्रो वडामा वाढीले पु¥याएको क्षतिको विवरण संकलनमा जुटेका छौँ, ‘उनले भने, ‘पीडितलाई राहत क्षतिग्रंस्त सरचनाको पुर्ननिर्माणका लागि पहल गछौँ ।’ वडाध्यक्ष विष्टले प्रदेशका मन्त्रीद्वय ओम विक्रम भाट(सरल), अक्कल बहादुर कुँवर सहितले स्थलगत अनुगमन गर्दै क्षतिग्रस्त सरचनाको पुर्ननिर्माणदेखि राहतका लागि प्रदेश सरकारबाट पहल गर्ने आश्वासन दिएको बताए । वडाध्यक्ष विष्टले क्षतिग्रस्त सडक, पुलपुलेसा पुर्ननिर्माणका लागि पालिकाबाट स्रोत साधन दिनुपर्ने बताए ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका प्रमुख चुटुन कुमार श्रीवास्तले अवरुद्ध विद्युत सेवा शुचारुका लागि पुर्ननिर्माण कार्य भईरहेको बताए । ‘विद्युतका पोल ढुवानीमा समस्या भयो, ‘उनले भने, ‘आजैसम्म विद्युत शुचारु गर्न हामी जुटेका छौँ ।’ पीडितहरुले यथाशिघ्र राहत, क्षतिग्रस्त सरचना पुर्ननिर्माणमा जोडदिएका छन ।