कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर १० को अठभैया टोलमा बहुप्रतिक्षित पुलको शिलान्यास सम्पन्न भएको छ। वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले शनिवार एक समारोहबिच पुलको शिलान्यास गर्नुभएको हो। पुलको निर्माणले लामो समयदेखि यस क्षेत्रका बासिन्दाले भोग्दै आएको ठुलो समस्या समाधान हुने अपेक्षा गरिएको छ।
शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख बोहराले यो पुलले विद्यार्थी, बिरामी, निर्माण सामग्री ढुवानी र सवारीसाधनको आवतजावतमा उल्लेखनीय सहजता ल्याउने बताउनुभयो। “हाम्रो नगरको समग्र विकासमा यो एउटा कोसे ढुङ्गा साबित हुनेछ। यसले जनताको समय र श्रमको बचत गर्नुका साथै आर्थिक गतिविधिलाई पनि चलायमान बनाउनेछ,” उहाँले भन्नुभयो।साथै उहाँले निर्माण कम्पनीलाई पनि तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
स्थानीय बासिन्दाहरूले विगतका दिनहरूमा पुलको अभावमा निकै कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन्। यहाँका बुढापाका, विद्यार्थी र बिरामीहरूलाई आवतजावत गर्न २-३ किलोमिटर घुम्नुपर्ने बाध्यता थियो। “हाम्रा बालबालिकालाई स्कुल जान र बिरामीलाई अस्पताल पुर्याउन निकै समस्या थियो,” स्थानीय खुसिराम डंगौराले दुखेसो पोखे। तर, पुलको शिलान्याससँगै यहाँका बासिन्दाहरूमा खुसीयाली छाएको छ। “अब हाम्रा समस्या समाधान हुने आशा पलाएको छ, यो हाम्रा लागि ठुलो राहत हो,” स्थानीय डंगौराले हर्षित हुँदै भने।
वडा नम्बर १० का वडाध्यक्ष रतन सिंह विष्टले यो परियोजनालाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय जनताको सक्रिय सहभागिता र निर्माण कम्पनीको जिम्मेवारीले यो परियोजनालाई समयमै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
यस्तै, नेपाली काँग्रेसका वेदकोट नगर सभापति तुलाराम साहुले पनि यो कार्यको स्वागत गर्नुभएको छ।उहाँले भन्नुभयो “यो पुलले यहाँका जनताको जीवनस्तरमा सुधार ल्याउनेछ। हामी सबैले यो परियोजनाको सफलताको कामना गर्नुपर्छ र आवश्यक सहयोग गर्नुपर्छ।“
पुल निर्माणका लागि २१ लाख १८ हजार २ सय १७ रुपैयाँ बजेट विनियोजन गरिएको छ। श्री न्यू बासुलिङ कन्सट्रक्सन्स निर्माण कम्पनीले आगामी १ महिनाभित्र यो परियोजनाको सम्पूर्ण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। यो अवधिमा पुलको संरचना मात्र नभएर त्यसको दिगोपन र गुणस्तरमा पनि विशेष ध्यान दिइने ठेकेदार उत्तम चन्दले बताउनुभएको छ। “हामीले स्थानीयको आवश्यकता र भौगोलिक अवस्थालाई मध्यनजर राखेर काम गर्नेछौँ। तोकिएको समयमै जनतालाई सुविधा दिने हाम्रो लक्ष्य छ,” उहाँले भने।
पुलको शिलान्यासले उक्त ठाउँको विकासमा नयाँ ढोका खोलेको स्थानीयको भनाइ छ। विशेष गरी सिमाङ्कृत र दुर्गम क्षेत्रमा यस्ता पूर्वाधारले जनजीवन सहज बनाउनुका साथै आर्थिक समृद्धिको आधार तयार गर्ने अपेक्षा गरिएको छ।