प्यारा तालमा पत्रकार महासंघको बैठक सम्पन्न: पूर्वाधार विकास र खबरदारीको नयाँ चरण
हेमा भट्ट श्रावण २, २०८२
कञ्चनपुर- सदियौँदेखि बेवास्ताको सिकार बनेको प्यारा ताल, पुनर्वास नगरपालिका–९ मा, अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ। स्थानीय पत्रकार दिपेन्द्र बस्नेतको सामाजिक सञ्जालमार्फत चलाइएको जागरण अभियान र स्थानीय समाजसेवीहरूको ऐक्यबद्धताले तालप्रति जन–चासो बढेको छ। यसले गर्दा अहिले प्यारा ताल स्थानीय तथा प्रदेश सरकारको प्राथमिकतामा पर्न सफल भएको देखिन्छ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयानाथ शर्माको पहलमा हालसम्म ताल क्षेत्रमा तटबन्ध निर्माण सम्पन्न भइसकेको छ भने सभा हल निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिइएको छ। यस्तै, आज तालको छेउमै नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको बैठक सम्पन्न भयो। बैठकमा पत्रकार, समाजसेवी, स्थानीय जनप्रतिनिधि र युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकको मूल उद्देश्य प्यारा तालको दीर्घकालीन संरक्षण, स्थानीय पूर्वाधारको दिगो विकास, र पर्यटन प्रवर्द्धनका सम्भावनामाथि गम्भीर छलफल गर्नु थियो।
पत्रकार महासंघले पत्रकारितालाई खबरदारी र पारदर्शिताको बलियो औजार बनाउने संकल्प लिएको छ। विशेषगरी विकासका नाममा भइरहेका अनियमितता र कमजोर कार्यप्रणालीमाथि खबरदारी आवश्यक रहेको धारणा पत्रकारहरूले व्यक्त गरे।
स्थानीय युवाले भने, प्रदेश सरकारले निर्माण गरेका बाटो–घाटा कालोपत्रे भएको एक हप्तामै भत्किन थालेका छन्। यस्ता काममा अनुगमन र जवाफदेहिता जरुरी छ।”
यस भनाइले स्थानीय युवाहरूको चेतनशीलता र पारदर्शिताप्रतिको मागलाई प्रस्ट गर्छ।
प्यारा तालमा सम्पन्न पत्रकार महासंघको बैठकले विकास, पारदर्शिता र पत्रकारिताको जिम्मेवारीबीचको गहिरो सम्बन्धलाई उजागर गरेको छ। यसले ताल संरक्षण मात्र नभई समग्र पुनर्वास नगरपालिकाको समुन्नत विकासको ढोका खोल्न सक्छ भन्ने विश्वास व्यक्त गरिएको छ।