विकास सिह महता
कञ्चनपुर. पश्चिम नेपाल कञ्चनपुरको दोधाराचाँदनीमा बन्ने सुक्का बन्दरगाहकोे काम शुरु भएको छ । दोधाराचाँदनी नगरपालिका १ चाँदनीमा सुक्का बन्दरगाहकोे काम शुरु भएको हो । भारतीय लगानीमा निर्माण हुने सुक्का बन्दरगाहको काम पनि भारतीय निर्माण कम्पनी सिओएमटी कस्ट्रक्सन प्रालिले निर्माण शुरु गरेको छ ।
नेपाल सरकारले सुक्का बन्दरगाह निर्माण स्थलको जमिनमा रहेका रुख खाली गराएपछि भारतीय निर्माण कम्पनीले मंगलबारदेखि काम शुरु गरेको जनाएको छ । सुक्का बन्दरगाह निर्माणका लागि गौरीशंकर सामुदायिक वनमा रहेका झण्डै १५सय रुख काटेर खाली गराईएको थियो । नेपाल ईन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपाली पक्षबाट रुख काटेर जमिन खाली गराएर सुक्का बन्दरगाह निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनीलाई साईड देखाएको बताए ।
‘४२.३६ क्षेत्रफल रहेको सुक्का बन्दरगाहमा पहिलो चरणमा २५हेक्टरमा मात्रै सरचना निर्माण हुनेछन, ‘उनले भने, ‘जिम्मा पाएको कम्पनीले अहिलेदेखि नै काम शुरु गरेको छ, जरा निकाल्ने कामदेखि व्यवस्थापन हुनेछ ।’ वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन, ईआइए, आईई तयार भईसकेको बताउँदै उनले साईड क्लियरेन्सको कार्य सम्पन्न भएसंगै भारतीय पक्षले काम शुरु गरेको बताउँदै गोदाम, भन्सार जाँच, क्वारेन्टाईन, ईमिग्रेसन, सुरक्षा लगायत भौतिक पूर्वाधारका भवन निर्माण गर्नेछन ।
सुक्का बन्दरगाह निर्माणका लागि भारतीय र नेपाल सरकारविच १जुन ०२३मा सम्झौता भएको थियो । सिओएमटी कस्ट्रक्सन प्रालिका म्यानेजिङ्ग डाईरेक्टर शुनिल शर्माले भारतीय सरकारले दिएको मापदण्ड अनुरुप कामकाज अघि बढाउने बताए । उनका अनुसार झण्डै २अर्ब, ४०करोड लगातमा तीन बर्षभित्रै निर्माण कार्य सम्पन्न गरिने छ ।
सुदूरका युवा उद्यमी एव औद्यौगिक तथा लगानी प्रर्बद्धन बोड सदस्य तेज बहादुर चन्दले सुक्का बन्दरगाहकोे काम शुरुवात भएसंगै सुदुरको मात्रै नभई समग्र नेपालको आर्थिक विकासका ढोका खोल्ने बताए । उनले नेपालको सबैभन्दा छोटो दुरीमा रहेकोे नाका यही भएकाले सुक्का बन्दरगाह निर्माणले विकासको कोशोढुङगा साबित हुने बताए । ‘हामीले नाकाबाट समान आयात मात्रै होईन निर्यात पनि गर्ने हो, ‘उनले भने, ‘महाकालीमा चार लेन पक्की पुल बनिसकेको अवस्थामा उत्तरमा चिन, दक्षिणमा भारतसंग त्रिदेशीय नाका जोड्नेछ ।’ उनले उक्त नाका निर्माणसंगै एसियन मुलुकसंग नेपालको सिधै कनेक्टीभिटी हुने बताए ।
कञ्चनपुरका युवा उद्यमी दिवाकर भट्टले देशकै छोटो नाकामा दोधाराचाँदनी भएकाले यो निर्माणसंगै पश्चिम नेपालको औद्योगिक व्यवसायिक विकासमा टेवा पुग्ने बताए । उनले सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको सम्भावनाको ढोका खुल्ने बताए । भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रुद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठुलो योगदान मिल्ने अपेक्षा गरिएको बताए ।
‘रुद्रपुर भारतकै ठुलो औद्योगिक क्षेत्र हो, नेपालको गड्डाचौकी नाकादेखि भारतको औद्योगिक क्षेत्र पुग्न दुई घण्टा लाग्छ, तर यति छोटो दूरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन,’ उनले भने, ‘सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आएपछि यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्छ ।’
स्थानीय युवा प्रविन बोगटीले अब सरकारले अन्यन्त्र योजना भन्दा यही योजनामा ध्यान दिनुपर्ने बताए । उनले बन्दरगाहसँगै दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलाई पनि अघि बढाउन सके सुदूरपश्चिमको समृद्धिको ढोका खुल्ने बताए ।
०६४ सालमा तत्तकालिन उद्योगमन्त्री लेखराज भट्टका पालमा दोधाराचाँदनीमा सुक्का बन्दरगाह बनाउने योजना अहिले ०८२मा पुग्दा उद्योगमन्त्री दामोदर भण्डारीका पालनामा फिल्डमै कामकाज हुन थालेपछि जनताले अब सुक्का बन्दरगाह निर्माण हुने आशा पलाएको छ । सरकारले योजना बनाउने १८ बर्षपछि पश्चिम नेपालका जनताको सपना पुरा हुने जनाईएको छ ।