बेलडाँडी । बेलडाँडी गाउँपालिकाले चवन्नी बजारदेखि कालिकिच तालसम्म जोड्ने फराकिलो सडक निर्माणको अवधारणाअनुसार काम अगाडि बढाइरहँदा पालिकाका तीन जना जनप्रतिनिधिहरूले सार्वजनिक हितलाई प्राथमिकता दिँदै आफ्ना निजी संरचना स्वेच्छाले हटाएका थिए ।
गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, वडा नं.२ का अध्यक्ष नारद सिंह उर्याल र वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले सडकको नक्सामा परेका आफ्नै घर, सटर र घरेडी डोजर लगाएर हटाएका थिए । व्यक्तिगत स्वार्थभन्दा जनताको हितमा साहसी निर्णय लिँदै उनीहरूले फराकिलो सडकको मार्ग खुला गरेका हुन् ।
अध्यक्ष रानाले आफ्नै ७ कट्ठा जमिन साटेर चवन्नी बजारमा बनाएको सटरसहितको संरचना नक्सा अनुसार सडकमा परेको थाहा पाएलगत्तै कुनै हिचकिचाहट बिना स्वयम पहलमा डोजर लगाएर हटाएका थिए । यसैगरी वडा नं.२ का अध्यक्ष उर्यालले दुईवटा घरेडी र दुईतले घर त्यागे भने वडा नं.३ का अध्यक्ष चौधरीले पनि दुईवटा सटरसहितका संरचना सडकको लागि समर्पण गरेका थिए ।
बेलडाँडीको समृद्ध भविष्यका लागि जनप्रतिनिधिहरूले देखाएको यो दूरदर्शी सोच र साहसी कदमलाई स्थानियवासीहरूले उच्च सम्मान गरेका छन् । ’मैलाउँ मै खाउँ’ भन्ने प्रवृत्ति मौलाउँदै गएको वर्तमान राजनीतिक परिवेशमा जनताको लागि आफूले प्रयोग गर्दै आएको सम्पत्ति त्याग्नु बिरलै पाइने उदाहरण हो ।
यस्ता कार्यहरूले न केवल ती जनप्रतिनिधिहरूलाई लोकप्रिय बनाएका छन्, बरु सम्पूर्ण जनप्रतिनिधिहरूका लागि पनि अनुकरणीय प्रेरणा बनेका छन् । यदि अन्य जिम्मेवार पदमा रहेका व्यक्तिहरूले पनि यस्तै निष्ठा देखाउने हो भने बेलडाँडीको भविष्य उज्यालो बन्ने निश्चित छ । सो सडक अहिले पनि निर्माणधिन अवस्थामै रहेको छ, बजेट अभावले पुर्ण बन्न नसकेको सडक छिट्टै बन्ने पालिकाले जनाएको छ ।
सडक विस्तारले जनताको दैनिक जीवनशैलीमा उल्लेखनीय सुधार ल्याउनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत नयाँ गति दिने अपेक्षा गरिएको छ । फराकिलो सडक निर्माणपछि साना गाडीमात्र होइन, ठूला सवारी साधन पनि सहज रूपमा आउजाउ गर्न सक्नेछन् । यसले दैनिक यात्रु तथा सर्वसाधारणको समय, खर्च र जोखिम घटाउनेछ ।
स्थानीय बजारहरूलाई जिल्लाका प्रमुख व्यापारिक केन्द्रसँग जोड्न मद्दत पुग्नेछ । व्यापारीहरूलाई ढुवानीमा सहजता मिल्नेछ भने कालिकिच ताल जस्तो पर्यटकीय स्थलमा आगन्तुकको आवागमन बढ्नेछ । यसले होटल, रेष्टुरेन्ट, सवारी व्यवसायी र स्थानीय उत्पादनमा प्रत्यक्ष फाइदा पु¥याउनेछ ।
फराकिलो सडकले एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी लगायत आपतकालीन सेवाहरूको पहुँच सहज बनाउनेछ, जसले जनताको सुरक्षाको प्रत्याभूति दिलाउनेछ । विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालयसम्म पुग्न सहज भएसँगै ग्रामीण क्षेत्रमा सेवा प्रवाहमा उल्लेखनीय सुधार आउनेछ । वृद्धबृद्धा तथा बिरामीका लागि सेवा लिन सहज हुनेछ ।
आगामी दिनमा राम्रो पहुँचका कारण उद्योग, कृषिजन्य उत्पादन तथा अन्य पूर्वाधारको विकासले स्थायी रोजगारी सिर्जना गर्ने सम्भावना छ । यसले गाउँमै स्वरोजगारको वातावरण बन्नेछ ।
फराकिलो सडक विकासको मेरुदण्ड हो भन्ने तथ्य बेलडाँडीले प्रस्ट बुझेको छ । यातायात सञ्जाल सुदृढ भएसँगै सम्पूर्ण गाउँमा समुचित विकास योजनाहरू सजिलै कार्यान्वयन गर्न सकिनेछ । यसले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र सामाजिक सेवामा गुणात्मक सुधार ल्याउने विश्वास लिइएको छ ।
“फराकिलो सडक भनेको केवल बाटो मात्र होइन, यो भविष्यको ढोका हो,“ स्थानीयहरुले भने, “यो अभियानमा सबैले साथ दिनु अबको आवश्यकता हो ।” बेलडाँडीको समृद्ध भविष्यका लागि फराकिलो सडक मात्र नभई सबैको सोच पनि फराकिलो हुन जरुरी भएको स्थानीय बौद्धिक वर्गले औंल्याएका छन् ।
बेलडाँडीलाई व्यवस्थित र फराकिलो बनाउने यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने यी तीन जनप्रतिनिधीप्रतिलाई समाजको तर्फबाट हार्दिक सम्मान व्यक्त गरिन्छ ।