किशोर तामाङ,

२४भदौँमा जेनजी आन्दोलनका आगोले जलेर ध्वस्त बनेको पुनर्वास नगरपालिकाको भवन अहिले पनि पीडाको स्मृति बोकेर उभिएको छ । भित्तामा कालो धुवाँका दाग, टुटेका झ्यालका सिसा र खरानीमा परिणत भएका फर्निचरहरू – यी सबैले आन्दोलनको क्षणिक क्रोधलाई सम्झाइरहेका छन् । तर यही अन्धकारबीच एउटा किरण बनेर अगाडि आएका छन् पुनर्वासका युवा निर्माण व्यवसायी दावत तामाङ र धनगढी(४ चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालि ।

यीनीहरुले पालिकालाई उठाउन हातेमालो गर्दै तामाङले ४ थान कम्प्युटर, २ थान दराज, २ थान टेबल र २ थान प्रिन्टर सहयोग गरे भने आलोकले पालिकालाई फर्चिरका समान उपलब्ध गराउने जनाएको छ । उनको यो सानो तर महत्त्वपूर्ण योगदानले केवल पालिकाको कार्यालयलाई मात्र होइन, यहाँका जनताको मनलाई पनि नयाँ ऊर्जा दिएको छ ।

“देशभर संरचना जलेका छन्, तर हामी निराश भएर बस्न मिल्दैन । आ(आफ्नो ठाउँबाट सानो योगदान गरे पनि सरकार र पालिका उठ्छन् भन्ने विश्वासमा यो सहयोग गरेको हुँ,” तामाङको भनाइ थियो ।

नगरप्रमुख तोयप्रसाद शाहीले आन्दोलनका क्रममा पुनर्वास नगरपालिकाले पनि ठूलो क्षति बेहोर्नुपरेको स्मरण गर्दै भने, “यस्तो कठिन घडीमा तामाङजस्ता युवाले देखाएको सहयोग साँच्चिकै प्रेरणादायी छ । यसले हामीलाई मात्र होइन, सम्पूर्ण नगरलाई उठ्ने हिम्मत दिएको छ ।”

खरानीमाथि पनि फूल फुल्छ भन्ने विश्वास जस्तै, दावत र आलोकको सहयोगले पुनर्वासमा फेरि आशाको बीउ रोपिएको छ । ध्वंसपछि पनि उठ्ने हिम्मत यहीँबाट सुरु भएको छ ।

आलोक मल्टी कन्सर्न प्रालिले सुदूरपश्चिम प्रदेशभरिकै क्षति पुगेका सरकारी कार्यालयहरूको सहज सञ्चालनका लागि आवश्यक फर्निचर तथा सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । साथै, सम्पर्क गर्न नसकिने टाढा–टाढाका कार्यालयहरूले पनि यसै सूचनालाई आधार मानी सम्पर्क गर्न आग्रह गरिएको थियो ।

प्रतिक्रिया दिनुस