कञ्चनपुर, ७ असोज
कञ्चनपुरको भीमदत्त नगरका एक वडाध्यक्षले निरन्तर भत्ताको रकम जेष्ठ नागरिकलाई वितरण गर्दै आएका छन । भीमदत्त नगरपालिका १ का वडाध्यक्ष आसेफ कुँवर(भुन्टु)ले विगत ९ बर्षदेखि निरन्तर भत्ताको रकम जेष्ठ नागरिकलाई वितरण गर्दै आएका हुन । यस बर्षपनि वडाध्यक्ष कुँवरले राज्यबाट पाएको रकम जेष्ठ नागरिक, असाहयलाई वितरण गरेका छन ।
हरेक आर्थिक बर्षको पहिलो चौमासिक दशैँ तिहार अघि वितरण गर्दै आएका वडाध्यक्ष कुँवरले चालु आर्थिक बर्ष ०८२÷०८३ को असोज पहिलो साता सोमबार भत्ता वितरण गरेका छन । पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष कुँवरले ०७४देखि ०८२सम्म निरन्तर भत्ता वितरण गरेका हुन ।
‘मैले चुनावका बेला जनतासंग गरेको बाचा अनुरुप राज्यबाट पाउने रकम हरेक बर्ष ७० वर्ष माथिका जेष्ठ नागरिक र अति असक्तलाई दामाशाही हिसाबले रकम वितरण गर्दै आएको छु, ‘वडाध्यक्ष कुँवरले भने, ‘मैले हरेक महिना पाउने २२ हजार ४७० रुपैया पुरै जेष्ठ, असक्त र असाहय नागरिकलाई दशैँ अघि वितरण गर्दै आएको छुु ।’ आफ्नै भत्ता बाफत रकम वडाध्यक्ष कुँवरले वितरण गरेपछि जेष्ठ नागरिकदेखि असाहय नागरिक खुसी भएका छन । वडाध्यक्ष कुँवरले ९ बर्षमा झण्डै २५ लाख बढी भत्ता बाफत पाएको रकम हरेक बर्ष डेढसयदेखि १ सय ७० वडाबासीले पाउँदै आएका छन ।
स्थानीय लक्ष्मीदेवी विश्वकर्माले राज्यले दिएको सेवा सुविधा पनि जनतालाई वितरण गरेको कार्यबाट खुसी व्यक्त गरिन । दलित महिला लक्ष्मीदेवीले दलितको अधिकारका लागि लड्नेहरुले केही नगरेपनि वडाध्यक्षले दशैँ मनाउन खर्च दिएको भन्दै खुसी व्यक्त गरिने । अर्की महिला लिलादेवी दमाईले वडाध्यक्ष कुँवरले निरन्तर आफ्नो दुखमा साथ दिएको बताईन । जेष्ठ नागरिक हरसिह डगौराले आफ्नो निजी सुुविधाको रकम जेष्ठ नागरिकको खुसीका लागि भन्दै उनको आभार प्रकट गरेका छन ।