
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपाल (EOC-Nepal) ले आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको देशैभर निरन्तर, स्वतन्त्र र निष्पक्ष रूपमा पर्यवेक्षण गर्ने घोषणा गरेको छ।
समितिले विगत लामो समयदेखि संघीय, प्रादेशिक तथा स्थानीय तहका निर्वाचनहरूमा पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै वर्तमान विशेष परिस्थितिमा हुने निर्वाचनलाई विशेष प्राथमिकताका साथ अवलोकन गरिने जनाएको छ। उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा राजनीतिक दल, उम्मेदवार र नागरिकहरूको उत्साहपूर्ण सहभागितालाई समितिले लोकतान्त्रिक अभ्यासको सकारात्मक संकेतका रूपमा लिएको छ।
तर मनोनयन दर्ताका क्रममा देशका केही स्थानमा देखिएका अभद्र व्यवहार, अवाञ्छित गतिविधि तथा निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलापप्रति समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधिले लोकतान्त्रिक प्रक्रियामा नकारात्मक प्रभाव पार्ने भन्दै समितिले चिन्ता व्यक्त गरेको छ।
समितिका अनुसार स्थानीय, जिल्ला, प्रादेशिक तथा संघीय तहमा परिचालित पर्यवेक्षकहरूले निर्वाचनका सम्पूर्ण चरणहरू नजिकबाट अवलोकन गरिरहेका छन्। निर्वाचन शान्तिपूर्ण, मर्यादित, कानुनसम्मत, समावेशी र नागरिकमैत्री हुनुपर्ने मान्यतामा समिति प्रतिबद्ध रहेको जनाएको छ।
पछिल्ला दिनहरूमा केही स्थानमा देखिएका उत्तेजक गतिविधि, डरत्रास सिर्जना गर्ने, अवरोध उत्पन्न गर्ने तथा सामाजिक सद्भावमा असर पुर्याउने कार्यहरू लोकतान्त्रिक प्रक्रियाका लागि अनुकूल नदेखिएको समितिको निष्कर्ष छ। यस विषयमा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै समितिले जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ।
निर्वाचन प्रक्रियाको विश्वसनीयता, निष्पक्षता र मर्यादा कायम राख्न सम्पूर्ण सरोकारवालाहरूले आफ्नो भूमिका जिम्मेवार, संयमित र कानुनसम्मत रूपमा निर्वाह गर्नुपर्नेमा समितिले जोड दिएको छ। समितिका अध्यक्ष श्रीकृष्ण सुवेदीले सबै पक्षको सहकार्यबाट मात्रै स्वच्छ र विश्वसनीय निर्वाचन सम्भव हुने बताएका छन्।

