
झलारी। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन मूल समिति गठन गरेको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का लागि नेकपा नेता देवीलाल चौधरीको संयोजकत्वमा १ हजार ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो।
समितिको सहसंयोजकमा खेमराज पाण्डेय रहेका छन्। निर्वाचन परिचालन समितिमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश समितिका सदस्य, ३ वटै पालिकाका पदाधिकारी, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि, वडा तहका पदाधिकारी तथा अग्रणी नेताहरूलाई समेटिएको नेकपाले जनाएको छ।
यसैगरी, निर्वाचन परिचालनलाई थप प्रभावकारी बनाउन पार्टीले पालिकास्तरीय संयोजकहरू पनि तोकेको छ। जसअनुसार कृष्णपुर नगरपालिकाको संयोजकमा अमिन दहित, शुक्लाफाँटा नगरपालिकाको संयोजकमा महेशदत्त जोशी र बेदकोट नगरपालिकाको संयोजकमा मिनराज गिरीलाई जिम्मेवारी दिइएको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेकपाबाट माधव पन्त उम्मेदवार रहेका छन्। मंगलबार झलारीमा सम्पन्न कार्यक्रममा निर्वाचन मूल परिचालन समितिका संयोजक देवीलाल चौधरीको अध्यक्षतामा केन्द्रीय सदस्य भानुभक्त जोशीले निर्वाचन केन्द्रित प्रशिक्षण प्रदान गरेका थिए।
यसैबीच, नेपाली कम्युनिष्ट पार्टीले माघ १५ गते निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका तीनवटै पालिकामा बृहत् भेला आयोजना गर्ने निर्णय समेत गरेको छ।

