कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरको फ्लोरिडा इन्टरनेशनल बोर्डिङ सेकेण्डरी स्कूलले आफ्नो २५औँ (रजत) वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका प्लसटु संयोजक हिक्मत दमाईले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रमहरू निरन्तर रूपमा अघि बढाइरहेको बताए ।

उनले विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर अतिरिक्त क्रियाकलाप, अनुशासन तथा नतिजामुखी शिक्षण प्रणालीमा जोड दिइएको उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन डा. भवानी चलाउनेले विद्यालयहरू नै भविष्यका क्याम्पस र विश्वविद्यालयका लागि दक्ष जनशक्ति उत्पादन गर्ने आधारभूमि भएको बताए । गुणस्तरीय विद्यालय शिक्षाले उच्च शिक्षाको मेरुदण्ड तयार गर्ने उनको धारणा थियो ।

कार्यक्रमको अध्यक्षता गरेका विद्यालयका प्रिन्सिपल जयराज ओझाले शैक्षिक सुधारका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुँदा विद्यार्थी र अभिभावकको विश्वास बढ्दै गएको बताए । उनले आगामी दिनमा पनि प्रविधिमैत्री शिक्षण, अनुशासित वातावरण र उत्कृष्ट नतिजालाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, पुरस्कार वितरण तथा विविध रचनात्मक कार्यक्रम मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । यसैगरी जिल्लाका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरूले पनि विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस उत्साहपूर्वक मनाएका छन् ।

प्रतिक्रिया दिनुस