दिपक राज भट्ट ,डडेल्धुरा पौष ९, डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै आफन्तहरूले सुदूरपश्चिम प्रदेशका मुख्य दुई राजमार्ग अवरुद्ध पारेका छन्।
मृतकका आफन्तले बुधबार भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध पारेका हुन्। भीमदत्त राजमार्ग अन्र्तगत अमरगढी नगरपालिका–१ स्याउले बजारमा आफन्तहरूले टालय बालेर सडक अवरुद्ध पारेका हुन्।

क्षतिपूर्तिको माग गर्दै आफन्तहरूले राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

मंगलबार दिउँसो १ बजेतिर अमरगढी नगरपालिका–१ लिसा कम्पनी नजिकै बस र मोटरसाइकल ठोक्किँदा अमरगढी नगरपालिका–११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो।

प्रहरीका अनुसार महेन्द्रनगरबाट बझाङ आउँदै गरेको ना७ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायल तर्फ गइरहेको से४प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए। घाइते भएका उनको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ। बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साता जिल्लाको यातायात ठप्पदुई वटा राजमार्ग अवरुद्ध पारिँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात ठप्प रहेको छ।

डडेल्धुरा, बैतडी, बझाङ, डोटी, दार्चुला, अछाम र बाजुराको मुख्य राजमार्ग भीमदत्त र केआइसिंह अवरुद्ध हुँदा सयौं सवारी साधनहरू सडकमै रोकिएका छन्। राजमार्ग अवरुद्ध हुँदा बिहानै गन्तव्यतिर हिँडेका यात्रुहरू मारमा परेका छन्।

प्रतिक्रिया दिनुस