
महेन्द्रनगर । महेन्द्रनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा ध्वज बहादुर विष्ट निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी पदम सिंह विष्टलाई ७६ मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्।
निर्वाचन परिणाम अनुसार ध्वज बहादुर विष्टले २२३ मत प्राप्त गर्दा पदम सिंह विष्टले १४७ मत प्राप्त गरेका थिए। संस्थाको निर्वाचनमा कुल १ हजार ७ सय ७ मतदाता रहेकोमा ६ सय ४७ मत खसेको निर्वाचन समितिले जनाएको छ।
भीमदत्त नगरपालिका–८ तिलाचौर निवासी ध्वज बहादुर विष्ट यसअघि २०७४ सालमा वडाध्यक्ष पदमा निर्वाचित भइसकेका व्यक्ति हुन्। उनका प्रतिस्पर्धी पदम सिंह विष्ट नेपाली सेनाका अवकाशप्राप्त कर्मचारी हुन्।
निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष विष्टले संस्थाको विकास, खानेपानी सेवाको सुधार तथा उपभोक्ताको हकहितका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। उनले संस्थालाई पारदर्शी, उत्तरदायी र उपभोक्तामैत्री बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय स्तरमा महत्वपूर्ण मानिएको महेन्द्रनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्व चयनसँगै अब खानेपानी व्यवस्थापन र सरसफाई सेवामा थप सुधार हुने अपेक्षा गरिएको छ।

