काठमाडौं पौष १३, प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको टोलीमाथि प्रहरीले निर्मम दमन गरेको छ । प्रहरी दमनमा मोर्चाका दर्जनौं नेता कार्यकर्ता घाइते भएका छन् भने मोर्चाका अध्यक्ष सीपी गजुरेल, महासविच परि थापा, कार्यालय सदस्य पवनमान श्रेष्ठ लगायत १५ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरी गिफ्तारमा पर्ने अन्य नेता कार्यकर्ताहरुमा सुरेश श्रेष्ठ, फुर्नाम्गेल मोक्तान, दिपक शाही, बसन्त बोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, ढोगप्रसाद अधिकारी, पदम भण्डारी, नरेन्द्र कार्की, अमिट योञ्जन, मिनप्रसाद गिरी, सुन्दर श्रेष्ठ लगायत रहेका छन् । गिरफ्तार नेता कार्यकर्ताहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

घाइते मध्ये सुनिता बुढाथोकीको हात भाँच्चिएको छ भने घाइते हुने अन्य नेता कार्यकर्ताहरुमा दिनेश शर्मा, सुरेश श्रेष्ठ, बसन्त बोगटी, खगेन्द्र छन्त्याल, शारदा महत लगायत रहेका छन् । घाइतेहरुलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन माइतीघर मण्डलामा जम्मा भई नारा जुलुससहित गएको मोर्चाको टोलीलाई हनुमानस्थान नपुग्दै धोवी खोला नजिक भाटभटेनी अगाडि प्रहरीले रोकेको थियो । मोर्चाको टोलीले निषेधित स्थानसम्म जाने बताउँदै अगाडि बढ्न खोज्दा इन्स्पेक्टर बिबि पौडेलको नेतृत्वमा रहेको प्रहरी टोली एक्कासी दमनमा उत्रिएको थियो । प्रहरी दमनका बाबजुद मोर्चाले घटनास्थलमै विरोध प्रदर्शन गर्दै कोणसभा समेत सम्पन्न गरेको छ ।
मोर्चालाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले दिउसो २ बजे सिंहदरबारस्थित आफ्नो कक्षमा ज्ञापन पत्रका लागि समय दिएका थिए । आफैले बोलाएर मोर्चाका नेता कार्यकर्तामाथि सरकारले निर्मम दमन गरेको भन्दै मोर्चाका नेता कार्यकर्ताहरुले व्यापक विरोध गरेका छन् । नेताहरुले प्रहरी दमनलाई सरकारको फासिवादी दमनको नाङ्गो हर्कत भनी टिप्पणी गरेका छन् ।
मोर्चाले अतिक्रमित भूमि फिर्ताको माग राख्दै देशव्यापी रुपमा आन्दोलन गरिरहेको छ । र, सोही विषयमा सरकारलाई ज्ञापन पत्र बुझाउन जाँदै गर्दा प्रहरीले निर्मम दमन गरेर भारतीय विस्तारवादी शासकहरुको दलाली गरेको मेर्चाका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुस