
धनगढी । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै बिरामीको विश्वास जित्न सफल केयरटेकर अस्पताल प्रा.लि. धनगढीले अब अत्याधुनिक ब्रोन्कोस्कोपी सेवा सञ्चालनमा ल्याएको छ। धनगढी उपमहानगरपालिका–३, चटकपुर, सहिदगेटमा रहेको अस्पतालमा पल्मोनोलोजिस्ट डा. नारायण जोशी र उहाँको विशेषज्ञ टोलीद्धारा उक्त सेवा सुरु गरिएको हो।
फोक्सो तथा श्वासप्रश्वास प्रणालीसम्बन्धी रोगहरूको उच्चस्तरीय परीक्षण र उपचारका लागि महत्वपूर्ण मानिने ब्रोन्कोस्कोपी सेवा सञ्चालनले सुदूरपश्चिमका बिरामीलाई आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ। यस आधुनिक प्रविधिबाट श्वासनली र फोक्सोभित्र प्रत्यक्ष अवलोकन गर्न, आवश्यक बायोप्सी तथा अन्य नमुना संकलन गर्न र जटिल रोगहरूको पहिचान गर्न सकिने चिकित्सकहरूले भनाइ छ ।
अस्पतालका अनुसार दीर्घकालीन खोकी, रगत मिसिएको खोकी, श्वासप्रश्वासमा समस्या, क्षयरोग (टीबी), फोक्सोको संक्रमण तथा फोक्सोको क्यान्सरजस्ता रोगहरूको निदान र मूल्याङ्कनमा यो सेवा अत्यन्त प्रभावकारी हुनेछ।
सेवाको सुरुवातसँगै अब उपचारका लागि काठमाडौं वा भारतसम्म धाउनुपर्ने बाध्यता कम हुने, जसले बिरामीको समय, खर्च र अन्य झन्झटमा समेत उल्लेखनीय कमी ल्याउने अपेक्षा गरिएको छ। स्थापनाकालदेखि नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको केयरटेकर अस्पतालले विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ परामर्श सेवा तथा जनस्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस्ता सामाजिक तथा स्वास्थ्य सेवामूलक गतिविधिले अस्पतालप्रति विश्वास अझ बलियो बन्दै गएको सेवाग्राहीको भनाइ छ। अत्याधुनिक प्रविधि, विशेषज्ञ चिकित्सकको उपलब्धता र सेवामुखी कार्यशैलीका कारण केयरटेकर अस्पताल सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा स्थापित हुँदै गएको छ। ब्रोन्कोस्कोपी सेवाको सुरुवातले यस क्षेत्रको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको विज्ञहरूको भनाइ छ ।

