कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख तथा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय कैलालीका प्रमुख सहितको टोलीले आज महाकाली नदीमा नेपाली सेनाद्वारा निर्माण भइरहेको बाँध र भीमदत्त नगरपालिका–९ स्थित खल्ला मसेटी तथा टुडिखेल क्षेत्रको विद्युत समस्याबारे स्थलगत अनुगमन गरेको छ।

टोलीले महाकाली नदीमा निर्माणाधीन बाँधको अवलोकन गर्दै निर्माण कार्यको प्रगति, गुणस्तर तथा बाँकी कामका विषयमा जानकारी लिएको थियो। अनुगमनका क्रममा सांसद महताले नदी कटान नियन्त्रण, बस्ती संरक्षण तथा पूर्वाधार सुरक्षाका दृष्टिले उक्त बाँध महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरणमा जोड दिएका छन्।

त्यसपछि टोलीले भीमदत्त नगरपालिका–९ अन्तर्गत खल्ला मसेटी र टुडिखेल क्षेत्रमा लामो समयदेखि देखिँदै आएको विद्युत आपूर्ति समस्याको स्थलगत निरीक्षण गरेको थियो। स्थानीय बासिन्दासँगको छलफलमा वर्षौंदेखि कमजोर तथा अनियमित विद्युत सेवाका कारण दैनिक जनजीवन, व्यवसाय तथा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको गुनासो गरिएको थियो।

अनुगमनपछि नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय कैलालीका प्रमुखले विद्युत समस्या समाधानका लागि आवश्यक प्राविधिक काम भोलिबाटै सुरु गरिने जानकारी दिँदै सेवामा देखिएका अवरोधलाई यथाशीघ्र अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सांसद महताले नागरिकका आधारभूत सेवासँग प्रत्यक्ष जोडिएका समस्या समाधानलाई प्राथमिकतामा राखेर निरन्तर पहल गरिरहेको बताउँदै खल्ला मसेटी र टुनीखेल क्षेत्रको विद्युत समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले पनि सम्बन्धित निकायबीच आवश्यक समन्वय गरी विकास निर्माण तथा सेवा प्रवाहका समस्याहरू समाधान गर्न प्रशासन प्रतिबद्ध रहेको बताए। स्थानीयवासीले महाकाली नदी नियन्त्रणका लागि भइरहेको बाँध निर्माण कार्य र विद्युत समस्या समाधानका लागि सरोकारवाला निकायले देखाएको सक्रियताप्रति खुशी व्यक्त गर्दै काम शीघ्र सम्पन्न हुने अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुस