
बैतडी, पुर्चौडी। पुर्चौडी नगरपालिकाको रोजगार सेवा केन्द्रमार्फत सञ्चालन गरिएको ३९० कार्यघण्टे विद्युत मर्मत तथा मोबाइल फोन मर्मत सम्बन्धी सीपमूलक तालिम आज एक विशेष कार्यक्रमका बीच सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त तालिमको उद्घाटन मिति २०८३ साल वैशाख १२ गते गरिएको थियो। समापन कार्यक्रममा नगर प्रमुख दीपक बहादुर बम, उपप्रमुख मीना धानुक, वडा नं. ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता धिरेन्द्र बहादुर बम, वडा नं. १ का वडा अध्यक्ष गणेश बहादुर गडाल, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपाली लगायत नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, जनप्रतिनिधि, प्रशिक्षक, रोजगार सेवा केन्द्रका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई नगरपालिकाको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउन, स्वरोजगार सिर्जना गर्न तथा स्थानीय स्तरमै रोजगारीका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
रोजगार संयोजक हरिस धामी ले तालिमले सहभागीहरूमा व्यावहारिक ज्ञान र सीप विकास भएको बताउँदै अब प्राप्त सीपलाई व्यवहारमा उतारी स्वरोजगार तथा उद्यमशीलतामा लाग्न आग्रह गर्नुभयो। उहाँले रोजगार सेवा केन्द्रमार्फत आगामी दिनमा पनि स्थानीय आवश्यकता र श्रम बजारको मागअनुसार यस्ता सीपमूलक तालिमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रमको अन्त्यमा तालिम सफलतापूर्वक सम्पन्न गरेका सम्पूर्ण सहभागीहरूलाई बधाई दिँदै, प्राप्त सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न शुभकामना व्यक्त गरिएको थियो। पुर्चौडी नगरपालिकाले युवाको सीप विकास र रोजगारी प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

