
भोजराज जोशी
झलारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लाफाँटा नगर समितिले नागरिकसँग प्रत्यक्ष संवाद, स्थानीय समस्या पहिचान तथा समाधानका लागि ‘शुक्लाफाँटा जनसंवाद यात्रा’ सञ्चालन गर्ने भएको छ। साउन २ गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत नगरपालिकाका १२ वटै वडामा पुगेर स्थानीयवासी, पार्टीका सदस्य, शुभेच्छुक, बुद्धिजीवी, युवा, महिला, किसान, व्यवसायी तथा विभिन्न समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गरिने नगर समितिले जनाएको छ।
रास्वपाले सार्वजनिक गरेको कार्यक्रम अनुसार “जनताको आवाज, जनतासँगै समाधान” भन्ने मूल नारासहित सञ्चालन हुने यो अभियानको उद्देश्य जनताका वास्तविक समस्या प्रत्यक्ष रूपमा सुन्ने, स्थानीय आवश्यकताको पहिचान गर्ने, विकासका प्राथमिकता निर्धारण गर्ने तथा नागरिक र राजनीतिक नेतृत्वबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने रहेको छ।
नगर समितिका सभापति हरिश सिंह धामीकाे नेतृत्वमा हुने जनसंवाद यात्रा केवल औपचारिक भेटघाटमा सीमित नरही प्रत्येक वडाको वस्तुगत अवस्था बुझ्ने, नागरिकका गुनासा, सुझाव र अपेक्षालाई व्यवस्थित रूपमा संकलन गर्ने तथा ती विषयलाई सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि पहल गर्ने अभियान भएकाे रास्वपा शुक्लाफाँटाले जनाएकाे छ ।
सभापति धामीले भने,
“राजनीति जनताको बीचबाट सञ्चालन हुनुपर्छ भन्ने हाम्रो विश्वास हो। त्यसैले जनताको आवाज सुन्न, उनीहरूको वास्तविक समस्या बुझ्न र समाधानका लागि साझा पहल गर्न हामी घरदैलोमै पुग्दैछौँ। सुशासन, समृद्धि र स्वाभिमानको लक्ष्य प्राप्तिका लागि नागरिकको प्रत्यक्ष सहभागिता अपरिहार्य छ।”
जनसंवाद यात्रामा स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगार, युवा पलायन, सामाजिक सुरक्षा, वातावरण संरक्षण, महिला सशक्तीकरण तथा नगर विकाससँग सम्बन्धित विषयमा खुला छलफल गरिने जनाइएको छ। प्राप्त सुझावका आधारमा स्थानीय मुद्दाहरूलाई प्राथमिकतामा राखी कार्ययोजना तयार पारिने पनि समितिले जनाएको छ।
अभियानका क्रममा पार्टी संगठन सुदृढीकरण, नयाँ सदस्यता विस्तार तथा नागरिकसँग निरन्तर सम्पर्क र विश्वासको सम्बन्ध विस्तार गर्ने कार्यलाई पनि समानान्तर रूपमा अघि बढाइनेछ। रास्वपाले यस यात्रालाई केवल राजनीतिक कार्यक्रम नभई जनताको भावना, आवश्यकता र अपेक्षालाई नीतिगत तहसम्म पुर्याउने नागरिक–केन्द्रित अभियान का रूपमा अगाडि बढाउने जनाएको छ।
रास्वपाका संस्थापक सचिवालय सदस्य, केन्द्रिय सदस्य, क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक राज बोहराज्युकाे प्रमुख उपस्थितिमा हुने कार्यक्रममा केन्द्रीय सदस्य विजय जैरु, प्रदेश, जिल्ला तथा नगर तहका नेताहरुकाे सहभागिता रहनेछ। विभिन्न वडामा आयोजना हुने कार्यक्रममा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका सुझाव र गुनासालाई अभिलेखीकरण गरिने व्यवस्था मिलाइएको नगर समितिले जानकारी दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिले नगरवासी सम्पूर्ण नागरिकलाई आफ्नो वडामा आयोजना हुने जनसंवाद कार्यक्रममा सहभागी भई खुला रूपमा आफ्ना विचार, सुझाव र समस्याहरू राख्न हार्दिक आग्रह गरेको छ। समितिका अनुसार नागरिकको सक्रिय सहभागिताबाट मात्रै उत्तरदायी, पारदर्शी र जनमुखी राजनीतिक संस्कृतिको विकास सम्भव हुने विश्वासका साथ यो अभियान सञ्चालन गर्न लागिएको हो।

